सूचनाको शक्ति - The Power Of Information

        

बाँके–बर्दियामा पाटेबाघको गणना अन्तिम चरणमा

बाँके । बाँके–बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ गणनाको काम अन्तिम चरणमा पुगेको छ । गत मङ्सिर २९ गते बर्दिया राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको बाघ गणना बाँके निकुञ्जमा पुगेर सम्पन्न हुने चरणमा पुगेको हो ।

‘ए बी सी र डी’ गरेर चार वटा क्षेत्र बनाई शुरु गरिएको बाघ गणना हाल आएर ‘डी’ क्षेत्रमा भइरहेकाले सो क्षेत्रको सकिएपछि गणना सम्पन्न हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

उनले ‘डी’ क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्ज र राप्तीपारिको दाङसँग सीमा जोडिएको क्षेत्रमा अहिले बाघ गणनाका लागि प्राविधिक खटिएको जनाउँदै केही दिनमै सकिने बताए ।

बाघ गणनाका लागि बाँके–बर्दिया निकुञ्ज क्षेत्रलाई चार वटा क्षेत्रमा छुट्याइएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जलाई ‘ए’ र ‘बी’ क्षेत्र तथा ‘सी’ क्षेत्रमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई समेटिएको थियो ।

‘डी’ क्षेत्रमा भने पूरै बाँके राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रअन्तर्गतको भू–भाग समेटिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाले यस क्षेत्रको बाघ गणनाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले विगतको तुलनामा बाघको सङ्ख्या वृद्धि भएको पाइएको पनि बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १९:४३