ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको हो ।
उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआइबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
ठेकेदार पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरासमेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए ।
छोराविरुद्ध उजुरी परेपछि एमाले केन्द्रीय सदस्यसमेत रहेका मेयर घनश्यामले बस्नेत लगायतसँग छलफल गर्दै आएका थिए । उनले छलफल गरेर विवाद साम्य पार्ने प्रयास गर्नुका साथै पैसा तिर्ने वचन समेत दिएका थिए । तर, पैसा नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाणसहित प्रहरीमा उजुरी दिएका थिए ।
पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । ठगी गरेकोबारे समाचारहरू प्रकाशित भएपछि ठेकेदार अनुपले विज्ञप्ती जारी गर्दै आफ्नो बचाउँ गर्दै आएका थिए । उनले ठगी गरेको आरोप झुठा भएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ती नै निकालेका थिए ।
सत्यपाटी । काठमाडौं ।