सूचनाको शक्ति - The Power Of Information

        

विपत्तिमा छिमेकीलाई साथ

सीमापारिका ठूला आगलागी नियन्त्रणमा लिन नेपाली दमकल

आगलागीका घटना हुँदा प्रायः भारतीय जनता र सुरक्षा अधिकारीले नेपालसँग अग्नि नियन्त्रणका लागि सहयोग माग्ने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल

बाँकेको जमुनाह नाकाबाट २०० मिटर दक्षिणतर्फ रहेको भारतीय भन्सार नजिकै एक गोदाममा आइतबार राति आगलागी भयो ।

ठेला पार्किङ गर्ने स्थानमा विद्युत् सर्ट भएर लागेको आगो निभाउन भारतीय सुरक्षा अधिकारीले नेपाली समकक्षीसँग दमकल सहयोग मागे । प्रहरी र प्रशासनका उच्च अधिकारीले तत्काल सहयोग उपलब्ध गराउन वारुणयन्त्रका कर्मचारीलाई निर्देशन दिए ।

नेपालगन्जको अग्नि नियन्त्रण टोली दमकल लिएर भारत पुग्यो । सोमबार बिहान साढे ४ बजेसम्म खटियो । ‘रातभर आँखा झिमिक्क नपारी आगो नियन्त्रणमा लियौं,’ नेपालगन्ज उपमहानगरको वारुणयन्त्र शाखाका प्रमुख झयनबहादुर खड्काले भने, ‘सहयोग सानो भए पनि गुन त ठूलै हो नि ।’

यसअघि पनि नेपाली अग्नि नियन्त्रण टोलीले आगलागी हुँदा भारतलाई बारम्बार मानवीय सहयोग गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि माघको अन्तिम साता रुपैडिहामा मध्यराति आगलागी हुँदा नेपालगन्ज र कोहलपुरबाट तीन वटा दमकल पठाएर ठूलो विनाश हुनबाट जोगाएका थिए ।

‘यस्तो सानै कामले पनि दुईपक्षीय सहयोगको भावना जगाउँछ,’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘यसले काम सानै भए पनि नेपालीहरू मनकारी छन्, दुःखमा सहयोग पनि गर्छन् भन्ने सन्देश पनि दिन्छ ।’

उनका अनुसार जमुनाहपारिको भारतीय बजार रुपैडिहामा ४ महिनायता ठूला ३ वटा आगलागीका घटना भइसकेको छ । ती घटनामा पनि आगो नियन्त्रणमा लिन नेपाली वारुणयन्त्र र अग्नि नियन्त्रक खटिएका थिए । आगलागीका घटना हुँदा प्रायः भारतीय जनता र सुरक्षा अधिकारीले नेपालसँग अग्नि नियन्त्रणका लागि सहयोग माग्ने गरेका छन् ।

यस्तोमा नेपाली टोली तत्काल परिचालन हुने गरेको छ । ‘म त निद्रामा थिएँ, एकाएक फोनको घण्टी बज्यो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘भारतीय प्रहरीले सहयोग माग्नासाथ सबैतिर समन्वय गरेर दमकल पठाइएको हो ।’

अति साँघुरो त्यहाँको बजारमा आगो नियन्त्रणमा लिन भने नेपालगन्जबाट खटिने अग्नि नियन्त्रकले ठूलो चुनौतीको सामना गर्दै आएका छन् । ‘दमकल नछिर्ने सडक छन् । पानी भर्ने ठाउँ पनि छैन । निकै जोखिमसँगै कठिनाइको सामना गर्नुपर्छ,’ वारुणयन्त्र प्रमुख खड्काले भने ।

प्रहरी प्रशासनका अधिकारीले सानै सहयोगले पनि दुई मुलुकबीचको आपसी मित्रतालाई कसिलो तुल्याउन ठूलो मद्दत पुग्ने अपेक्षा गरेका छन् । आगजनी भइरहने सीमावर्ती बजारका सञ्चारकर्मीहरूले पनि नेपाली पक्षले दमकल पठाएर पुर्याउने सहयोगलाई मित्रराष्ट्रको ‘उल्लेखनीय योगदान’ भन्दै समाचार सम्प्रेषण गर्ने गरेको पाइन्छ ।

‘नेपालले धेरैपटक महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ पत्रकार रामजी सोनीले टेलिफोनमा भने, ‘बहराइचबाट दमकल आइपुग्न धेरै समय लाग्छ । नेपाल नजिकै छ । छिट्टै दमकल आइपुग्छन् । यस्तो विपत्तिमा हामीले धेरैपटक सहयोग प्राप्त गरेका छौं ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १७:४०