सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक घिसिङ्गबीच भेट

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गबीच भेटवार्ता भएको छ ।

शनिबार कर्णाली उत्सवमा कुडा कर्नालीका तेस्रो संस्करणमा झरो उज्यालोको खरो बहसमा सहभागी हुन आएका घिसिङ्ग र मुख्यमन्त्रीबीच भेट भएको हो ।

भेटका क्रममा कर्णालीमा विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

‘कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको छ ।’ उनले भने, ‘कर्णालीका बाँकी रहेका हुम्ला, मुगु र डोल्पा जिल्लामा यसै आर्थिक वर्षमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान हुनेछ ।’

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको संभावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको बताए । ‘अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेका छौं,’ उनले भने, ‘१३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आवश्यक रहेको छ ।’

जनसंख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै मुख्यमन्त्री शाहीले त्यो कर्णालीका लागि अन्याय हुने गरेको बताए । ‘हाम्रो भूगोल ठुलो रहेको छ । जनसंख्या थोरै भएका कारणले विकास गर्न समस्या रहेको छ,’ उनले भने, ‘नीति निर्माण तहमा रहेकाले यो कुरा बुझ्न सक्यो भने चाँडै कर्णालीको विकास हुन्छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १६:३९