बहादुर भवनस्थित निर्वाचन आयोगको भुईं तल्लाको एउटा कोठामा ५ वर्षदेखि एउटा अजंगको मेशिन थन्काएर राखिएको छ । अघिल्लो पटकको संसदीय निर्वाचनमा मतपत्र लगायतका कागजात छपाइको निम्ति करोडौंमा किनिएको उक्त मेशिन अर्को निर्वाचनको घोषणा भइसक्दा पनि बेवारिसे अवस्थामै छ ।
आयोगले आगामी चुनावमा मतपत्र छपाईको लागि निजी क्षेत्र वा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छनौट गर्ने तयारी भैरहेको बताइन्छ । तर,आयोगमा सोही प्रयोजनको लागि अघिल्लो पटक किनिएको प्रिण्टिङ मेशिन काम नलाग्ने अवस्थामा पुगेको कर्मचारीहरु बताउँछन् ।
मेशिन बेवारिसे बनाइएको रहेछ नि भनेर सोधिएको जिज्ञासामा आयोगका एक जना अधिकारीले भने, ‘मर्मत गर्न एक करोड ३० लाख रुपैयाँ लाग्ने इस्टमेट प्राप्त भएको छ । तर आयोगलाई आगामी स्थानीय तहको मतपत्र लगायतका सामाग्री छाप्न दुई करोड लाग्ने अनुमान छ । दुई करोडको छपाई गर्नको निम्ति मेशिन मर्मतमा सवा करोड किन खर्च गर्नु ?’
उनका अनुसार २०७४ सालको चुनावमा कसको हुटहुटीले त्यो मेशिन किनियो थाहा छैन । किन किनेको हो ? के प्रयोजनको लागि राज्यको त्यत्रो लगानी गरिएको हो भन्नेबारे आयोगका वर्तमान पदाधिकारी कसैलाई पनि जानकारी नभएको बताइएको छ ।
आयोगकै प्राविधिकहरुले भने, ‘नियमित छापिरहे मात्र यो मेशिनले काम गर्छ । तर दुई महिना बन्द भएको अवस्थामा मर्मत गर्नुपर्ने हुन्छ । आयोगले सामान्यतयाः पाँच वर्षमा एक पटक चुनाव गराउँछ, त्यस्तो कार्यको लागि त्यो टाइपको मेशिन किन किनिएको होला ? हामी पनि छक्क परेका छौं ।’
यता आयोगले मेशिनलाई जतिसक्दो छिटो जनक शिक्षा सामाग्री केन्द्रलाई हस्तान्तरण गर्ने योजना बनाएको बुझिएको छ । ‘मेशिन दिने, सट्टामा आयोगको लागि मतपत्र र कागजात छाप्ने शर्तमा दिइन्छ होला,’ एक जना शाखा अधिकृतले बताए ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कि त्यो मेशिन प्रयोग गर कि सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गर भनेर आयोगलाई ताकेता गरेको बुझिएको छ । अख्तियारले करोडौंको सामान किन्ने अनि लापरबाही तरिकाले थन्काउने काम नगर्नु भनेको हो ।
यसैबीच आगामी निर्वाचनमा आयोगले प्रत्येक मतदान केन्द्रको गतिविधि दृश्यमा कैद गर्नेबारे छलफल गरेको छ । सो क्रममा विभिन्न कम्पनीले उक्त कार्यमा चासो देखाएका छन् ।
एउटा सूचना प्रविधि कम्पनीले आयोगलाई उक्त कार्य ३२ करोड रुपैयाँमा गरिदिने प्रस्तावसमेत थियो । तर ३२ करोड तिरेर गरिएको भिजुलाइजेसन (भिडियो) को महत्व बैशाख ३१ गतेका दिन नै सकिने भएकाले उक्त कार्य बालुवामा पानी हुने भन्दै पन्छाइएको छ ।
सत्यपाटी । काठमाडौं ।