गत १५ फागुनमा रौतहटको देवानी गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रकुमार पटेलसहित चार जना पाँच लाख घुससहित पक्राउ परे । उपभोक्ता समितिमार्फत भवन निर्माण गरेपछि भुक्तानीका लागि उनले घुस मागेका थिए ।
घुस लिँदै गर्दा पटेलसहितका उनका सहयोगी र कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो । त्यसको दुई दिनअघि मात्र आयोगले बाग्लुङ नगरपालिका उपमेयर सुरेन्द्र खड्का तथा वडाध्यक्ष धुव्रबहादुर केसी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बसपार्क बनाइसकेको भनेर नक्कली बिल पेश गरेर उनीहरूले भ्रष्टाचार गरेका थिए । २७ माघमा रौतहटको पिपरा गाउँपालिकाका अध्यक्ष शम्भु यादवविरुद्ध ३५ लाख बिगोसहित आयोगले मुद्दा दायर गरेको थियो ।
स्थानीय पोखरीको ठेक्का आफैंले लिई त्यसको पैसा नबुझाएर उनले अनियमितता गरेका थिए । करिब तीन हप्ताको बीचमा दायर भएका यी तीन भ्रष्टाचार मुद्दाले स्थानीय तहमा कुन तहको बेथिति छ भनेर बुझ्न गाह्रो पर्दैन ।
देशमा संघीयता लागू भएसँगै सशक्त बनेका स्थानीय सरकारले थोरै विकास त गरेका छन् तर त्यो भन्दा धेरै भ्रष्टाचार गर्दा संघीयतालाई नै बदनाम गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रतिवेदनले पनि सबैभन्दा धेरै अनियमितता स्थानीय तहमा रहेको देखाउँछ ।
आयोगमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धि हुने गरेका छन् । अहिले पनि आयोगले १०० भन्दा धेरै स्थानीय तहमा भएको भ्रष्टाचारबारे विस्तृत अनुसन्धान गरिरहेको छ । यसअघि स्थानीय तहका प्रमुखहरू नै विभिन्न भ्रष्टाचारमा परेका थिए ।
सिराहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले छोरा सन्तकुमार मण्डलमार्फत पाँच लाख रुपैयाँ घुस लिएका थिए । नगरपालिका क्षेत्रमा आरसिसी ढलान र सडकको डिपिआर तयार गर्दा छुट्याइएको बजेटमध्ये डिपिआर बनाउने फर्मसँग कमिसनबापतको पाँच लाख रुपैयाँ घुस छोरामार्फत बुझेका थिए ।
यस काण्डमा मेयर सूर्यनाथ मण्डल र छोरा सन्तकुमार मण्डल ३१ असार ०७७ मा पक्राउ परेका थिए । अख्तियारले २८ साउन ०७७ मा बाबुछोराविरुद्ध मुद्दा चलाएको थियो । भ्रष्टाचार मुद्दा खेप्ने मण्डल स्थानीय तहको पहिलो मेयर हुन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी पनि भ्रष्टाचारका कारण निलम्बनमै छन् ।
उनी १० माघ ०७६ मा आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । गाउँपालिका ५ नम्बर वडामा उपभोक्ता समितिमार्फत निर्माण भएको सडकको भुक्तानीमै घुस लिएका उनी र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतविरुद्ध २२ फागुन ०७६ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
सोही दिन सडक निर्माणमा २५ लाख २५ हजार रुपैयाँ घुस (खातामा रकम राख्न लगाउनुका साथै गाडी खर्च र होटेल खर्च) लिएको आरोपमा अर्काे मुद्दा पनि चलेको थियो । यो मुद्दामा जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाही पनि परेका छन् । मकवानपुरको शैलक गाउँपालिका अध्यक्ष टंक मोक्तान पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । तालिमका नाममा खर्च भएको भन्दै धेरै रकम भुक्तानी दिएको अभियोग उनीमाथि छ ।
बलात्कारदेखि लागूऔषधसम्म
गम्भीर किसिमका अपराधमा स्थानीय तहका जनप्रतिनिधि मुछिएका छन् । नेपाल प्रहरीको तथ्याङकअनुसार तीन सय भन्दा धेरै स्थानीय तहका जनप्रतिनिधिविरुद्ध विभिन्न किसिमका फौजदारी अभियोग लागेको छ । त्यसमध्ये कतिपय जेलमै छन् ।
गत २८ साउनमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला बलात्कारको अभियोगमा पक्राउ परे । चोरीको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान्लाई छुटाउन सहयोग खोज्दै पालिकाका अध्यक्षलाई गुहार्न पुगेकी महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोप शुक्लामाथि छ ।
उनी लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए । वैशाख ८ गते बलात्कारको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेकोमा हाल जेलमा छन् । धरानस्थित एक गेष्टहाउसमा युवतीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगी बलात्कार गरेको भन्दै एक युवतीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । गत ५ साउनमा पर्साको मैनपुर गाउँपालिका–१, धोरेका वडाध्यक्ष अम्बिका सहनी खैरो हेरोइनसहित पक्राउ परिन् । वीरगञ्ज महानगरपालिकाको बर्वास्थित तिलावे पुलनजिक राति जाँच गर्दा वडाध्यक्ष सहनी सवार ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटरसाइकलमा ७९ ग्राम खैरो हिरोइन फेला परेको थियो ।
पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीसँगै अर्को मोटरसाइकल ना ६२ प १९४२ नम्बरमा सवार बलिस्टर सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी सोही वडाका वडा सदस्य हुन् । दुवै जना हाल कारागारमा छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का बलात्कार र अपहरण मुद्दामा जेल परेका थिए ।
पछि न्यायलय र पीडितलाई प्रभावमा पारी उन्मुक्ति पाएको बताइएको छ । पश्चिम रूकुमको चौरजहारीमा ६ जना युवाको हत्या भएको घटनामा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नता थियो । तल्लो जातको युवाले आफ्नो गाउँको युवती भगाउने खोजेको भन्दै स्थानीयलाई भड्काएर नवराज विक र उनका साथीहरूको कुटेर हत्या गरेका थिए । जसमा संलग्न वडा अध्यक्ष मल्ल हाल जेलमा छन् ।
नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न भएको आरोपमा गत असारमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परे । नक्कली भान्जालाई वडाध्यक्ष महर्जनले सक्कली भनेर सिफारिस गरेका थिए । सिराहको मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परेको छ ।
इटहरी उपमहानगरपालिकामा मेयर द्वारीकालाल चौधरीविरुद्ध पनि सेवाग्राहीलाई अभद्र व्यवहार गरेको अभियोग छ । बलात्कार, सुन तस्करी, ज्यान मार्ने उद्योग जस्ता मुद्दा जनप्रतिनिधिविरुद्ध परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलविरुद्ध सुन तस्करीको अभियोग छ ।
सिआइबीले बरामद गरेको १४ किलो सुन उनले तस्करी गरेको खुलेको थियो । धरौटीमा छुटेपछि उनले गाउँपालिका चलाइरहेका छन् । बाजुराको बडिमालिका ८ का वडाध्यक्ष प्रकाश रावल ज्यान मार्ने अभियोग खेपिरहेका छन् । बाजुरा जिल्ला प्रहरी कार्यालयले २०७५ फागुन १० गते बाजुराको त्रिवेणी नगरपालिका ७ का वडा सदस्य कृष्ण मिजारलाई पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले हातहतियार खरखजाना ओसारपसारको आरोपमा पक्राउ गरेको थियो । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा राति डेढ किलो चरेससहित वडा नम्बर ३ का सदस्य श्यामबहादुर खडका पक्राउ परेका थिए ।
सव डिभिजन वन कार्यालय चौमालाले केही दिनअघि काठ तस्करी गर्दैगर्दा वडा सदस्य निरज चौधरीलाई पक्राउ गर्याे । २०७६ असोज ७ गते डडेल्धुराको परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ शीर्षकमा प्रहरीमा मुद्दा छ ।
बोहरासँगै अमरगढी नगरपालिकाकी १० की वडा सदस्य बसन्ती भण्डारीविरुद्ध पनि प्रहरीमा मुद्दा रहेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काविरुद्ध पनि शान्ति विरुद्धको कसुरमा प्रहरीमा मुद्दा रहेको छ ।
२०७६ असार २५ गते डडेल्धुरा अस्पतालका डा.दिनेश उपाध्यायलाई अभद्र व्यवहार गरी हातपात गरेको भन्दै कानुनबमोजिम कारबाहीका लागि अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलसहित १२ जनाले प्रहरीमा निवेदन दिएका थिए ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ का वडाध्यक्ष खगेन्द्र रावत जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका थिए । जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने अर्का जनप्रतिनिधि हुन् रविन्द्र शाही । उनी गोदावरी नगरपालिका १० का वडाध्यक्ष हुन् ।
उनलाई प्रहरीले धनगढी उपमहानगरपालिका ३ मिलनचोकबाट पक्राउ गरेको थियो । करिब पाँच वर्षको अवधिमा केही स्थानीय तहले उदारणीय काम पनि गरेका छन् । तर, धेरै जसो बदनाम हुँदा समग्र स्थानीय तहका जनप्रतिनिधिको छवी धुमलिन पुगेको छ ।
यसले आगामी निर्वाचनमा असल चालचलनका जनप्रतिनिधि छान्नुपर्ने सन्देश पनि दिएको छ । त्यसमाथि बेरुजु फस्र्यौट नगर्ने जनप्रतिनिधिलाई निर्वाचन आयोगले उम्मेदवार बन्न नपाउने आचारसंहिता जारी गरेको छ । त्यसले पनि भ्रष्ट र खराव आचरण भएका जनप्रतिनिधिलाई चुनावमा उम्मेदवार बन्न गाह्रो छ ।
सत्यपाटी । काठमाडौं । ।