सूचनाको शक्ति - The Power Of Information

        

भेरी नदीमा बेलीब्रिज निर्माण तीव्र

जाजरकोट । स्तरोन्नतिको काम भइरहेको जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने भेरी नदीमा बेलीब्रिज पुल निर्माण जारी छ । निर्माण व्यवसायीले अस्थायीरूपमा तल्लु बगरमा बेलीब्रिज निर्माण गरी छिटोछरितो बनाउने कार्यलाई तीव्रता दिएका हुन् ।

जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलीब्रिज बनाएर डोल्पा खण्डमा बेलीब्रिज निर्माणलाई तीव्रता दिइएको सडक डिभिजन चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिए ।

बेलीब्रिज बनेपछि पहिलो पटक सवारीसाधनले ठूलीभेरी नदी तरेर सिधै डोल्पाको खदाङसम्म जान पाएका छन् । यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारि रोकिएको अवस्था थियो । सवारीसाधन तल्लुबगरबाट गोतामकोटसम्म तुइनमार्फत तारेर रु. एक लाख ५० हजार प्रतिपटक रकम खर्च गर्नुपर्ने बाध्यता थियो ।

अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलीब्रिज निर्माणको काम भइरहेको छ । तीन चारवटा बेलीब्रिज निर्माणका सामग्री ढुवानीका लागि इकोइन्फ्रा बिल्डर्सले बेलीब्रिज निर्माण गरेको हो ।

बिल्डर्सका प्रतिनिधि मनोज लेखकले बेलीब्रिज निर्माणका सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्नेगरी पुल तयार भएको बताए । उनका अनुसार अस्थायी बेलीब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पुर्याइनेछ ।

अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलीब्रिज तयार गरिएको हो । बिल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाड खोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलीब्रिज निर्माणको काम गरिरहेको छ ।

ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ भने सामान जडान गर्न मात्र बाँकी छ । अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलीब्रिज बन्दै छ भने रुपगाड खोला र करबगार खोलामा पनि पुल बनाइनेछ ।

सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जीनियर बस्यालले चारवटा बेलीब्रिज निर्माणको ६० प्रतिशत काम सकिएको बताए । तल्लुबगरमा पुल नहुँदा नेपालगन्ज, सुर्खेतलगायत ठाउँबाट आएका सवारी तल्लुबगरमा रोकिने गरेका थिए ।

पहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत् यात्रुले पिठ्युँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए । अस्थायी बेलीब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ११:२९