सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

बाँकेका पाँच स्थानीय तहमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम

बाँकेका पाँच वटा स्थानीय तहमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सुरु गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका आठ पालिकामध्ये अहिले पाँच पालिकामा सञ्चालन भइरहेको छ ।

कार्यक्रम सुरु भएका पालिकाहरूमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका रहेका छन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार तथा स्तरवृद्धिका लागि शिक्षा क्षेत्रमा मात्र कार्यक्रम लागू गर्ने उद्देश्यले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सुरु गरिएको हो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका समन्वयकर्ता भीम रावतले विगत तीन आर्थिक वर्षको कार्यक्रमभन्दा नयाँ कार्यविधि बनाई संरचनागत रूपमै फरक कार्यक्रम यस वर्षबाट लागू गर्न लागेकाले कार्यक्रम सञ्चालनमा केही ढिला भएको बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि बाँकेमा उपमहानगरलाई ८० लाख, नगरपालिकालाई ७० लाख र गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले वित्तीय सामान्यीकरण शीर्षकमा रकम विनियोजन गरेको छ ।

कार्यविधिको नयाँ संरचनाअनुसार पालिकास्तरमा पालिका प्रमुखको संयोकत्वमा रहेको पाँच सदस्यीय योजना छनोट तथा कार्यान्वयन समितिले गत माघ दोस्रो तथा तेस्रो सातामा मात्र पूर्णता पाएकाले योजना छनो टमा केही ढिलाइ भएको समन्वयकर्ता रावतले जानकारी दिए ।

उनका अनुसार २०७८ माघ मसान्तसम्म योजना छनोट समितिको बैठक बसी यथाशीघ्र जिल्ला समन्वयकर्तामार्फत योजना छनोट गरी पठाउनु भनी पालिकामा पत्राचार भएको र केही पालिकाले समयमै र केहीले ढिलो गरी योजना छनोट गरी पठाएका थिए ।

पालिकाले छनोट गरी जिल्ला अनुगमन समितिमा प्राप्त भएका योजना जिल्ला अनुगमन समितिले आफ्नो रायसहित ती योजना स्वीकृतिका लागि निर्देशक समितिमा पठाएको र निर्देशक समितिबाट स्वीकृत भई कार्यान्वयनका लागि पालिकामै पठाइसकिएको र पालिकाले कार्यान्वयनको प्रक्रियाअनुसार सुरु गरेका छन् ।

राप्तीसोनारी र डुडुवा गाउँपालिकाले धेरै पटक सम्पर्क र समन्वय गर्दा पनि हालसम्म योजना छनोट गरी नपठाएका र नरैनापुर गाउँपालिकाले योजना छनोटको प्रक्रिया नपुर्याई पठाएको हुँदा प्रक्रिया पुर्याएर पठाउन ताकेता गर्दासमेत नपठाएकाले ती तीन पालिकामा यस आर्थिक वर्षको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू हुन नसकेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम जिल्ला अनुगमन समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १०:३५