सूचनाको शक्ति - The Power Of Information

        

भक्तपुर र वीरगन्जमा कुखुरामा बर्डफ्लू देखा पर्‍याे

काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ।

यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । त्यस्तै ,वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखापरेको छ ।

वीरगन्ज महानगरपालिका-१५ भेडियाहीस्थित सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्मका ब्रोइलर कुखुरामा बर्डफ्लू देखिएको हो । बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् ।

फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरू पनि नष्ट गरिएको छ। बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल गरिएको छ ।

भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ०८:५६