सूचनाको शक्ति - The Power Of Information

        

खप्तड गोल्डकप : उपाधिका लागि मनाङ र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेपछि सुरु हुनेछ ।

आज दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।

विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ०७:१५