सूचनाको शक्ति - The Power Of Information

        

वर्षाले धानबालीमा क्षति

बाँकेका बाढीपीडित धान किसानलाई ३६ प्रतिशतमात्रै राहत

राहत रकम किसानको बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ ।

बाँके । गत असोज–कार्तिकको वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । उनीहरुले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका हुन् । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको छ ।

बाँकेका ८ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार १६५ रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको थियो । तर, केन्द्र सरकारले बाँकेमा जम्मा १० करोड रुपैयाँ पठाएको छ । जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

राहत रकम किसानको बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ । प्रजिअ खत्रीले अरु रकम उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारलाई माग गर्ने र उपलब्ध हुने बित्तिकै वितरण गरिने जानकारी दिए । बाँकेमा ३९ हजार ४८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार ३१० किसानको ९७ हजार ४३४ कट्ठामा धानबाली क्षति भएको थियो ।

खजुराले ५ करोड ६७ लाख ६४ हजार ४४८ रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले ५ हजार ९२२ किसानले ८९ हजार ५४१ कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख एक हजार ३५७ रुपैयाँ माग गरेको थियो । बैजनाथ गाउँपालिकाले चार हजार १५ किसानले लगाएको १३ हजार ४६७ कट्ठा धानबालीमा नोक्सानी भएको भन्दै एक करोड ६९ लाख ५० हजार ९४९ रुपैयाँ माग गरेको थियो ।

गएको कात्तिकमा धान भित्र्याउने बेला हुँदा परेको भारी वर्षाका कारण किसानले ठूलो क्षति बेहोरेका थिए । सो घटनालाई विज्ञहरुले जलवायुजन्य हानि नोसाक्नीसँग जोड्दै आएका छन् । त्यस्तै जानकी गाउँपालिकाले चार हजार ३८६ किसानको ५९ हजार ८११ कट्ठाको धान नोक्सान भएको भन्दै चार करोड ३४ लाख ११ हजार ९२७ रुपैयाँ माग गरेको थियो ।

कोहलपुर नगरपालिकाले दुई हजार १९४ किसानको १४ हजार ४५२ कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै एक करोड १५ लाख १८० रुपैयाँ माग गरेको थियो । राप्तीसोनारी गाउँपालिकामा चार हजार ६८३ किसानको ६९ हजार ३२७ कट्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३४३ रुपैयाँ माग गरिएको थियो ।

नरैनापुर गाउँपालिकाले ७ हजार ५६८ किसानको एक लाख ९ हजार १३० कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २७५ रुपैयाँ माग गरेको थियो । डुडुवा गाउँपालिकाले ५ हजार ४०४ किसानको ६४ हजार ४४९ कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै तीन करोड ४१ लाख ५३ हजार २१६ रुपैयाँ माग गरेको थियो ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर छ । गौरवको आयोजना सिक्टा सिंचाइले पूर्णता नपाउँदा अहिलेसम्म यहाँका किसानले आकाशे पानीको घरमा खेती गरिरहेका छन् । कात्तिकको पहिलो साता परेको वर्षाले पाकेर काटिसकेको र काट्ने अवस्थामा रहेको धानबालीमा क्षति पुर्याएको थियो । जुन धान सरकारको खरिदको मापदण्डमा परेन र व्यापारीले अति कम मूल्यमा खरिद गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १७:४६