बाँके । नेपालगन्जमा एकसाथ दुई वटा नगर भवनको निर्माण कार्य सुरु भएको छ । वडा नम्बर १४ को भवानियापुर मा निर्माण सुरु भएको ‘सिटीहल’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज उपमहानगर पालिका आफैँले वडा नम्बर ८ मा रहेको पुरानो नगर भवन जीर्ण भएका कारण भत्काएर नयाँ भवन निर्माण सुरु गरेको छ ।
भवनियापुरमा ३३ करोड २८ लाखको लागतमा निर्माण भइरहेको सिटी हलको काम करिब अन्तिम चरणमा पुगेको सङ्घीय आयोजना कार्यालय, सघन सहरी विकास कार्यक्रमका सूचना अधिकारी गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । ‘संरचना निर्माणको काम सकिएको छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘रङरोगन र फिनिसिङको काम भइरहेको छ ।’
नगरभित्रै अर्को सभाहलका रूपमा टाँगा स्टेसननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरूपमा निर्माण गर्न लागिएको हो । ‘अन्डर ग्राउन्ड पार्किङ’ सुविधा भएको व्यावसायिक कम्प्लेक्ससहितको बहुउद्देश्यीय सभाहलको बुधबार ने पालगन्ज उपमहानगर पालिकाका प्रमुख डा.धवलशमशेर राणाले शिलान्यास गरेका छन् ।
नगर भवनको शिलान्यास गर्दै नगर प्रमुख डा.धवलशमशेर राणाले यो भवन निर्माण सम्पन्न भएपछि नेपालगन्जको विकासमा कोसेढुङ्गा साबित हुने बताए । उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा वेसमेन्टसहितको व्यावसायिक कम्प्लेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोडको लागतमा वेसमेन्ट र ग्राउन्ड फ्लो र निर्माण हुनेछ ।
चालू आवभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रेय निर्माण सेवाले निर्माणको जिम्मा पाएको इन्जिनियर निवेशकुमार शर्माले जानकारी दिए । योजनाअनुसार वेसमेन्टबाहेक तीन तले भवन बन्नेछ । तेस्रो तलामा ५०० जना क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुनेछ । पहिलो चरणमा वेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछन् । पार्किङमा १४ वटा चार पाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
।