सूचनाको शक्ति - The Power Of Information

        

इप्रका पुनःस्थापनाको माग गर्दै नरैनापुरका नागरिक आन्दोलित

नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको माग गर्दै धर्नामा बसेका नरैनापुरका नागरिकहरु ।

बाँके । बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको माग गर्दै सो क्षेत्रका नागरिक आन्दोलित भएका छन् ।

नरैनापुर गाउँपालिका–४ मा स्थापित इलाका प्रशासन कार्यालय २०७२ मा असुरक्षाको कारण देखाई नेपालगन्जमा सारिएपछि हालसम्म पुनःस्थापना गरिएको छैन ।

नेकपा एमाले नरैनापुरको अगुवाइमा सुरु गरिएको सो आन्दोलनको क्रममा स्थानीयवासीले जिल्ला प्रशासनलाई दबाब दिन धर्ना र जुलुसको आयो जनासँगै हस्ताक्षर सङ्कलन अभियानसमेत चलाएको नेकपा एमाले नरैनापुरका अध्यक्ष पञ्चराम यादवले बताए ।

इलाका प्रशासन कार्यालय नेपालगन्जमा हुँदा वृद्धवृद्धा, अपाङ्गता भएका र अन्यलाई समे त नेपालगन्ज आवतजावत गर्न समस्या भइरहेको कारणले तत्काल सो कार्यालय नरैनापुरमै पठाउनुपर्ने माग गर्दै आएको अध्यक्ष यादवले बताए ।

उनले प्रशासनसँग सम्बन्धित विभिन्न कामका लागि नेपालगन्ज जानुपर्ने बाध्यताका कारण जनतालाई निकै समस्या भइरहेको गुनासो गरे ।

कार्यालय पुनःस्थापनाको माग गर्दै नरैनापुर क्षेत्रका एक हजार पाँच सयभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरिसकेको नेकपा एमाले नरैनापुरले जनाएको छ ।

सो कार्यालयका अनुसार उक्त मागलाई लिएर गाउँपालिकामा एकदिने धर्ना तथा नारा जुलुसको कार्यक्रम पनि गरिसकिएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले धेरै लामो समयदेखि इलाका प्रशासन पुनःस्थापना गर्न दबाब दिँदै आए पनि सुनुवाइ नभएको बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आफू इलाका प्रशासन सार्न सकारात्मक रहेको जनाउँदै तर त्यहाँ भवनको अभाव रहेकोले समस्या भएको बताए ।

तर नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले इलाका प्रशासनका लागि भवनको कुनै समस्या नभएको जनाउँदै सार्ने भए तत्काल भवन उपलब्ध गराइने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०८:३२