सूचनाको शक्ति - The Power Of Information

        

बाँके काँग्रेस अब गुटविहीन : सभापति गौडेल

बाँके । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति नारायणप्रसाद गौडेलले बाँके काँग्रेसमा अब कुनै गुट नरहने बताएका छन् ।

गौडेलले नेतृत्वमा आउनका लागि गरिएका प्रतिस्पर्धा र प्रयासलाई बिर्सेर अब सिङ्गो पार्टीपङ्क्ति एकजुट भएर सबल, सुदृढ र चलायमान काँग्रेस बनाउन लागिपर्ने बताए ।

निर्वाचित भएपछि पहिलो पटक बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति गौडेलले पार्टीलाई गतिशील बनाउन सबैलाई मिलाएर लैजाने बताए ।

उनले काँंग्रेसलाई चुनावमा कसैसँग पनि गठबन्धन गर्न आवश्यक नरहेको पनि स्पष्ट पारे । कुनै कुनै वडा वा पालिकामा आवश्यकताका आधारमा अन्य दलसँग समीकरण बन्ने सम्भावना रहे पनि बाँकेमा चुनावी गठबन्धन आवश्यक नरहेको अध्यक्ष गौडेलको दाबी छ ।

पार्टीभित्र उच्च मूल्याङ्कनको परिपाटी बसाउने दृढता व्यक्त गरेका सभापति गौडेलले नेता कार्यकर्ताको आत्मबल बढाउँदै लैजान सबैको आत्मसम्मान र स्वाभिमानको हेक्का राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

पत्रकार सम्मेलनमा गौडेलले पार्टीभित्रका विकृति, विसङ्गति र अराजक गतिविधिलाई निस्तेज पार्दै अनुशासित र मर्यादित सङ्गठन बनाउनतर्फ लाग्ने, पार्टीको मुखपत्र प्रकाशन गरी पार्टीका गतिविधि जनतासमक्ष पुर्याउने योजना रहेको सुनाए ।

सभापति गौडेलले पार्टी कार्यालयबाट सञ्चालन गरिने विभिन्न क्रियाकलापलाई प्रविधिमैत्री बनाउने, समावेशिताका आधारमा सबैलाई समावेश गरी अवसर प्रदान गर्ने, स्वर्गीय सुशील कोइरालाको सालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने लगायतका योजना सुनाए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०८:०९