सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन कार्यालयमा कर्मचारी अभाव

जाजरकोट । जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा कर्मचारी अभावका कारण दैनिक प्रशासनिक काममा बाधा पुगेको छ ।

निर्वाचन आयोगले चुनावको तयारी तीव्र पारे पनि जिल्ला निर्वाचन कार्यालयले भने कर्मचारी अभाव भोगिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र बनाउनका लागि कर्मचारी अभाव भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक जना अधिकृत (कार्यालय प्रमुख)सहित एक नायब सुब्बा, एक लेखापाल, एक कम्प्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी र एक जना हलुका सवारीचालकको दरबन्दी रहेको जिल्ला निर्वाचन कार्यालयमा अहिले नासु र लेखापालको पदपूर्ति नहँुदा कर्मचारी अभाव भएको हो ।

अहिले आयोगले मतदाता नामावलीमाथि दाबी विरोधको समय राखेको छ । फागुन २६ गतेसम्म मतदाता नामावलीमा कुनै त्रुटि भए दाबी विरोध गर्न सकिने बताइएको छ । कार्यालय प्रमुख डिलबहादुर कार्कीले नासुको दरबन्दी गत पुस अन्तिम सातादेखि रिक्त भएको र लेखापाल रिक्त भएको एक वर्ष पुग्न लागेको बताए ।

हाल कोष तथा लेखा नियन्त्रक कार्यालयले नै लेखाको काम गरिरहेको छ । कर्मचारी नहुँदा कार्यालयको प्रशासनिक काममा असर परिहेको कार्यालय प्रमुख डिलबहादुर कार्कीले बताए । उनले कर्मचारीको अभावका विषयमा आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराइएको र छिट्टै कर्मचारी पठाउने वचन पाएको जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०७:५७