सूचनाको शक्ति - The Power Of Information

        

अचाक्ली बढ्यो महंगी

काठमाडौं । युक्रेन र रुसको जारी युद्ध, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डलर सटही दरको वृद्धि लगायतका कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य बढाएका छन् ।

विदेशबाट कच्चा पदार्थ आयात गर्दा मूल्य बढेको बहाना बनाएर व्यापारीले पुरानो स्टक सामान पनि मूल्य बढाएर बेचेका छन् ।

अहिले बजारमा मूल्य नबढेको वस्तु सायद छैन । खाने तेल, चामल, दाल, कुखुराको मासु, डिजेल, पेट्रोलसहित रडको समेत मूल्य बढेको छ ।

दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थसम्मको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन् । विशेष गरी विद्यार्थी, निम्न आय भएका, दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न हम्मे परेको छ ।

खाने तेलको मूल्य लिटरमै ४० रुपैयाँ, चामल बोरामा एक सय ५० देखि दुई सय रुपैयाँ, दाल किलोमा २० रुपैयाँसम्म बढेको छ ।

फागुन पहिलो साता १६ सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर अहिले १८ सय रुपैयाँसम्म पुगेको छ ।

दुई सय ४० रुपैयाँ लिटरमा बिक्री भएको सनफ्लावर तेलको मूल्य दुई सय ८० रुपैयाँ पुगेको छ । त्यसैगरी दुई सय २० रुपैयाँको भटमासको तेलको मूल्य बढेर दुई सय ५५ रुपैयाँ पुगेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०७:४९