सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व मिर्गौला दिवस

नेपालमा मिर्गौला रोगी बढेको बढ्यै, ‘स्वस्थ खानपानमा ध्यान दिउ’

नेपालमा प्रत्येक १० जनामध्ये एक जना व्यक्तिलाई मिर्गौला सम्बन्धी दीर्घकालीन रोग

काठमाडौं । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमानले श्रीमतीलाई मिर्गौला दान गर्न तयार भए तर उनलाई मधुमेह लगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो ।

विगत आठ वर्षदेखि डायलासिस गराइरहेकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन । अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेका छन् । ‘नियमित डायलासिस धेरै बोझको जिन्दगी हो,’ तुलसीले भनिन्, ‘हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।’

तुलसीको डायलासिस हप्तामा तीन पटक गर्नुपर्छ । हाल उक्त केन्द्रमा २५ जनाले हप्तामा तीन पटकसम्म नियमित डायलासिस गराइरहेका छन् । एक पटक डायलासिस गर्नलाई चारदेखि पाँच घण्टासम्म लाग्दछ । यस्तै रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ । उहाँको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ मा भएको थियो ।

त्यसपछि नियमित डायलासिसमा रहेकी श्रीपालीको २०७१ साल माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । जेठी छोरी विजयाले उनलाई मिर्गौला दान गरेकी थिइन् तर मिर्गौला प्रत्यारोपण गरेको २४ घण्टा पनि टिकेन । उनको शरीरले मिर्गौला रिजेक्ट गरेपछि दुई महिनासम्म शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भयो ।

पुनः मिर्गौला डायलासिस गराउनुपर्ने भयो । गत कात्तिक २९ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला पुनः प्रत्यारोपण भयो । अहिले भने श्रीपालीको परिवार आनन्दसँंग बस्न सकेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग लाग्नै नदिनका लागि समय समयमा मिर्गौला परीक्षण गर्नुपर्ने बताए ।

उनले कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौला रोगबारे थाहा हुने जानकारी दिँदै एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिए । उनले खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको बताए ।

मिर्गौला रोग विशेषज्ञ डा.ऋषि काफ्लेले मिर्गौला बचाउनका लागि बिहान उठेर एक गिलास पानी पिउन सुझाव दिए । उनले निश्चित समयभित्र मिर्गौला परीक्षण गर्न पनि सुझाव दिए । डा.काफ्लेका अनुसार, नेपालमा प्रत्येक १० जनामध्ये एक जना व्यक्तिलाई मिर्गौला सम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ ।

नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडायलासिस सेवा सुरु भएको थियो । आज विश्व मिर्गौला दिवस मनाइँदैछ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०७:३७