सूचनाको शक्ति - The Power Of Information

        

रुस विरुद्धको युद्धमापछि नहट्ने युक्रेनका राष्ट्रपतिको दावी

काठमाडौं । रुससँग युद्ध लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस विरुद्धको युद्धमा पछी नहट्ने दावी गर्नुभएकाे छ ।

बेलायतको संसद हाउस अफ कमन्सलाई भर्चुअल माध्सयमबाट सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस विरुद्धको युद्धमा सबै मोर्चाबाट आक्रमण जारी राख्ने बताउनुभएको हो । उहाँले जमिन, जंगल, समुद्र र आकाशबाट रुसी सेनाविरुद्धको प्रत्याक्रमण तिव्र पार्ने समेत बताउनुभयो ।

बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेल आयात पूर्णरुपले बन्द गर्ने घोषणा गरेपछि युक्रेनका राष्ट्रपतिले हाउस अफ कमन्समा सम्बोधन गर्नुभएको हो । सोही क्रममा जेलेन्स्कीेले युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न पश्चिमा जगतसँग पुनः माग गर्नुभयो ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी तेल, ग्यास र कोइला आयातमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ । यसैबीच अमेरिकी रक्षा अधिकारीहरूले केही रूसी सैनिकले आत्मसमर्पण गरेको दावी गरेका छन् ।

युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गतिविधिमा भएको र रुसी केही सैनिकले आत्मसमर्पण पनि गरेको दावी गरेका हुन् ।

पोल्याण्डले आफुसँग भएका युद्धक विमान अमेरिकी सेनालाई हस्तान्तरण गर्न तयार रहेको बताएको छ । पोल्याण्डसँग रुसमा निर्मित एम.आई.जि–२९ फाइटर जेट रहेको छ ।

उक्त विमान युक्रेनलाई सिधा नदिएर जर्मनीस्थित अमेरिकी सैनिक अखडालाई हस्तान्तरण गर्न पोल्याण्ड राजी भएको हो ।

त्यसको बदलामा आफूलाई चाहिने फाइटर जेटहरु अमेरिकाले उपलब्ध गराउनुपर्ने पोल्याण्डको सर्त छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:२२