सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १२ औं पटक खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधि

बाँके । ६ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाएपछि निवारण हुनुपर्नेमा बाँकेमा ११ पटक औषधि खुवाए पनि हात्तीपाइलेविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । ११ वर्षमा ११ पटक औषधी खुवाउने अभियान चलाइए पनि प्रभावकारी नभएपछि हाल आएर १२ औं पटक औषधि खुवाइँदैछ ।

फागुन २८ गतेबाट जिल्लामा १२ औं पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । रोग निवारणको निर्धारित समयको दोब्बर पटक औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाइले निवारण हुन नसक्दा राज्यले पटक पटक बाँकेमा सो विरुद्ध अभियान चलाउनुपरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार यसअघिका अभियानहरुमा विभिन्न कारणले अधिकांशले औषधि नखाएको र केहीले एक वर्ष खाने अनि अर्को वर्ष नखाने गरेकाले पनि सो अभियान प्रभावकारी नभएको हो । बाँकेमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु भएपछि पाँच पटक परीक्षणसहितको सर्भे गरिएको छ ।

जसमा बाँके फेल हुँदै आएको छ । यद्यपि, पहिले भन्दा रिपोर्ट भने सकारात्मक छ । स्वास्थ्य कार्यालयका प्रमुख शाहका अनुसार देशका अधिकांश जिल्ला हात्तीपाइले निवारणको स्तरमा पुग्दा पनि बाँकेले भने अझैँ मापदण्ड प्राप्त गर्न सकेको छैन । पछिल्लो पटक फागुनमा बाँकेको दुई ठाउँमा हात्तीपाइले अवस्थाबारे प्रि टास्क सर्भे भएको थियो ।

जसमा पनि बाँके फेल भएको प्रमुख शाहले बताए । स्वास्थ्य कार्यालयका अनुसार कोहलपुरको रझेना र नेपालगन्जमा प्रि टास्क सर्भे गरिएको थियो । जसमा निवारण लेभलभन्दा बढी हात्तीपाइले संक्रमित भेटिएका थिए । पहिलो पटक बाँकेमा भएको बेसलाइन सर्भेमा सन् २००१ मा बाँकेमा २०.८ प्रतिशत संक्रमित फेला परेका थिए ।

त्यसपछि त्यो ‘रेसियो’ भने घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, प्रि टास्कमा सन.् २०१५ मा बैजनाथ र नेपालगन्जका सर्भे गरियो । जसमा बैजनाथमा १८.५ र नेपालगञ्जमा १३.२ प्रति प्रतिशतमा संक्रमण देखियो । दोस्रो प्रि टाक्स सर्भे सन् २०१७ मा बैजापुर, रझेना र नेपालगन्जमा भयो ।

जसमा रझेनामा सर्भेमा सहभागी मध्ये २२.३, बैजापुरमा ५.३, नेपालगन्जमा ८ प्रतिशतमा परीक्षण गराएकामध्येमा पोजेटिभ देखियो । यसपटक सबै स्थानीय तहका जनप्रतिनिधि, नागरिक, राजनीतिक दल, संघ, संस्थाले हात्तीपाइलेविरुद्धको अभियानमा हातेमालो गरिरहेको प्रमुख शाहले जानकारी दिए ।

उनले यसअघि जस्तो परिवारका सदस्यलाई औषधि दिनेभन्दा यसपटक आफैले खुवाउने पर्ने नियम बनाएको बताए । उनका अनुसार अहिलेको औषधि पहिलेको भन्दा एउटा थप गरिएको छ । जुन निकै प्रभावकारी छ । जसले एक वर्षमै हात्तीपाइले निवारण गर्न सक्दछ । त्यसैले २८ गतेबाट १४ दिन घरघरमै पुगेर स्वयंसेवक आफैँले औषधि खुवाउनेछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०७:५५