सूचनाको शक्ति - The Power Of Information

        

सडकमा बढ्दो असुरक्षा

सडकमा खटिएका प्रहरी आफैँ असुरक्षित

बाँके । बाँकेका विभिन्न राजमार्गमा सुरक्षा जाँच र ट्राफिक व्यवस्थापनका लागि खटिएका सुरक्षाकर्मी आफैँ असुरक्षित देखिएका छन् । पछिल्लो दुई साताको अवधिमा बाँकेमा सवारीसाधनको ठक्करबाट दुई जनाको निधन भएको छ ।

सोमबार राति नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत राँझाचोकमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्र शाहीको निधन भएको छ । सोही घटनामा प्रहरी जवान नरेश चौधरी घाइते भएका छन् ।

‘नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा खटिएका प्रहरी हवल्दार शाही र जवान चौधरीलाई ठक्कर दिएको हो । तीव्र गतिमा हुने सवारी साधनले सडकमा बढी मानवीय क्षति हुने गरेको छ,’ जिल्ला प्रहरी कार्यालय बाँकका डीएसपी न्यौपानेले भने, ‘दुर्घटना न्यूनीकरणमा खटिएका सुरक्षाकर्मी आफैँ जोखिममा छन् ।’

यसअघि फागुन ८ गते राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर चौराहमा ना३ख ६४३६ नम्बरको ट्रकको ठक्करबाट सडकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवान कविता बुढाक्षेत्रीको निधन भएको छ । सडक किनारमा उभिएकी बुढाक्षेत्रीको कोहलपुर चौराहमा ट्रक मोडिनेक्रममा अनियन्त्रित भई पल्टिँदा ढालाले लागेर निधन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार कवितासँगै ड्युटीमा खटिएकी प्रहरी हवल्दार बासमती चौधरी भागेर बाँच्न सफल भइन् । प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षामा कडाइसँगै सचेतनामूलक अभियानसमेत चलाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०७:२९