सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बाँकेमा अवैध हतियारले सुरक्षा चुनौति

बाँके । भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको अपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ ।

मानिसहरुलाई धम्क्याउन, चोरी शिकारी गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ । खुला सीमाना रहेकाले बाँकेमा अवैध हतियार भित्र्याउन अपराधिक प्रवृत्तिको व्यक्तिलाई सहज रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति र भारतमा सहजै उपलब्ध हुने साना हतियार नेपालको सुरक्षा व्यवस्थामा चुनौति बन्दै गएका छन् । भारतबाट भित्रिने साना हतियार बाँके तथा अन्य जिल्लामा लगेर बिक्री गर्ने अपराधिक घटना घटाउने गरिन्छ ।

बाँके जिल्लामा चार दिनको अन्तरालमा फरक–फरक ठाउँबाट दुईथान अटोमेटिक पेस्तोलसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार एक महिना अगाडि पेस्तोलसहित डाँका गर्दै हिँडेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै मङ्सिरदेखि फागुन २० सम्म कोहलपुर क्षेत्रबाट दुई थान र खजुरा र कम्दी क्षेत्रबाट एक–एक थान पेस्तोल प्रहरीले बरामद गरिसकेको छ । चार महिनाको अवधिमा ६ वटा साना हतियार बरामद गरिएपछि प्रहरी सोबारेमा गम्भीर बनेको जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले यी हतियार जिल्लाको सुरक्षामा ठूलो चुनौती बनेको बताए ।

उनले निर्वाचन नजिकिँदै गएकाले प्रहरीले सबै प्रकारका सुरक्षा चुनौती समाप्त गर्ने अभियान सुरु गरिसकेकाले त्यस्ता हतियार अरू पनि हुन सक्ने हुँदा पत्ता लगाउने कार्य जारी रहेको बताए । खुला सिमानाको फाइदा उठाएर हतियार ओसारपसार तथा भित्र्याउने काम भइरहेकाले सो रोक्न विशेष रणनीति बनाउन थालिएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो समयमा चार दिन पहिले जिल्लाको डुडुवाबाट अमेरिकन मोडेलको अटोमेटिक पेस्तोलसहित तीन जनालाई हिरासतमा लिइएको थियो । आइतबार बेलुका खजुराको राधापुर क्षेत्रबाट एकथान अटोमेटिक पेस्तोलसहित तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार एकथान अटोमेटिक पेस्तोल र करिब ९० ग्राम ब्राउन सुगरसहित खजुरा–१ बाट स्थानीय २५ वर्षका रवीन्द्र थापा, २७ वर्षका मनीष थापा र २८ वर्षको सुरेश मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०७:०८