सूचनाको शक्ति - The Power Of Information

        

अर्थतन्त्र

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलर नेपाली रुपैयाँभन्दा झन् झन् बलियो देखिएको छ । मंगलबार अमेरिकी डलर १ को खरिद दर १२२.८४ रुपैयाँ र बिक्री दर १२३.४४ रुपैयाँ पुगेको हो । बैंकरहरुका अनुसार यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि डलर कम्तीमा ५ वर्षयताकै उच्च विन्दुमा पुगेको देखाएको छ । एक वर्षअघि अर्थात् सन् २०२१ को सोही अवधिमा १ अमेरिकी डलर खरिद गर्दा ११६.५२ रुपैयाँ तिर्नुपथ्र्यो भने बिक्री गर्दा ११७.१२ रुपैयाँ पाइन्थ्यो ।

सन् २०२० मा आजकै दिन १ डलरको खरिद दर ११७.७२ रुपैयाँ र बिक्री दर ११८.३२ रुपैयाँ थियो । त्यस्तै विश्वमा कोरोना महामारी सुरु नआउँदै सन् २०१९ मार्च ८ मा १ डलरको खरिद दर १११.७० रुपैयाँ र बिक्री दर ११२.३० रुपैयाँ रहेको थियो ।

सन् २०१७ मा १ डलर बराबर १०८.६४ रुपैयाँसम्म पुगेको थियो । त्यस्तै सन् २०१८ मा ११७.३५ रुपैयाँसम्म पुगेको थियो । सन् २०१९ मा ११४ रुपैयाँसम्म पुगेको थियो । सन् २०२० मा अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँ १२१.६९ रुपैयाँसम्म पुगेको थियो ।

फेरि सन् २०२१ मा ११९ रुपैयाँ वरिपरि रहँदा सन् २०२२ को मार्च महिना सुरु हुँदा १२१.२५ रुपैयाँ पुगेकोमा आज अमेरिकी डलरले नयाँ विन्दु छोएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विश्वमै बलियो

अमेरिकी डलर पछिल्लो समय विश्व बजारमा नै बलियो देखिएको छ । विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने डलर रुसले युक्रेनमाथि आक्रमण गरेपछि झन् बलियो बनेको हो । डलरलाई हालसम्म सुरक्षित मुद्रा मानिन्छ ।

विश्व बजारमा सन् २०२० को स्प्रिङ सिजनयताकै उच्च विन्दुमा पुगेको सीएनएनले जनाएको छ । खासगरी युरोपमा संघर्ष चलिरहँदा लगानीकर्ताले डलर खरिद गरेका छन् । अमेरिकी अर्थतन्त्र युक्रेन आक्रमणयता महंगी बढे पनि निकै स्वस्थ देखिएको छ ।

सन् २०२१ मा विश्व मुद्रा सञ्चितिमा ६० प्रतिशत हिस्सा अमेरिकी डलरले ओगटेको थियो । डलर बलियो हुँदा खासगरी कम्पनीहरुलाई असर गर्छ । उनीहरुले विश्वबजारबाट गर्ने आम्दानीमा र नाफामा असर पर्छ । त्यस्तै डलरमा ऋण तिर्ने अवस्थाका उदाउँदा अर्थतन्त्रमा पनि यसले असर पुग्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १५:५५