सूचनाको शक्ति - The Power Of Information

        

रुस–युक्रेन युद्धको असर

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि गर्ने रुसको चेतावनी

काठमाडौं । रुसले पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको हो । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो ।

रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । एक ब्यारेलमा १५९ लिटर हुन्छ । कच्चा तेलको मूल्य प्रतिलिटर १.८८ अमेरिकी डलर अर्थात २२५ रुपैयाँ हुन्छ ।

रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको बताए ।

संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच सोमबार मात्रै तेलको भाउमा व्यापक वृद्धि भएको थियो । सोमबार रुस–युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३८ डलर पुगेको थियो । तेलको मूल्य सन् २००८ यताकै उच्च तहमा पुगेको छ ।

बीबीसीका अनुसार विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ । युक्रेनमा जारी लडाईँ तत्काल रोकिने कुनै सम्भावना छैन । युरोपलगायत अन्य देशहरूमा धातुका साथै गहुँ, मकैलगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १०:१०