बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकास्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार भुपेन्द्रबहादुर शाहीको मृत्यु भयो । तीब्र गतिमा नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएपछि उनको मृत्यु भयो ।
मोटरसाइकलको ठक्करबाट उनीसँगै ड्युटीमा खटिएका प्रहरी जवान नरेश चौधरी घाइते भए । चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालकले मापसे गरेर मोटरसाइकल चलाएको पुष्टि भएको छ ।
सोमबार भएको मोटरसाइकल दुर्घटना एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । पछिल्लो समय बाँकेमा सवारी दुर्घटना भई मानवीय क्षति हुने क्रम बढ्दो छ । सामान्य ट्राफिक नियमसमेत पालना नहुँदा बाँकेमा सवारी दुर्घटना बढिरहेको छ । ट्राफिक प्रहरी भने ट्राफिक नियम विपरित चल्ने सवारी साधनलाई नियमित आम्दानीको स्रोत बनाइरहेको छ ।
ट्राफिक नियम पालना गराउनेतर्फ बेवास्ता गर्दै ट्राफिक प्रहरी नियमित आम्दानीमा मात्रै केन्द्रीत भएपछि बाँकेमा सवारी दुर्घटना तीब्ररुपमा बढिरहेका छन् । सेटिङमै राजस्व असुल्दै आएको बाँके ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनतर्फ ध्यान नदिँदा सडक दुर्घटना बढिरहेको ट्राफिक प्रहरी स्रोतको भनाई छ ।
सबै कागजात बोकेर मापदण्डअनुसार नै चलेका टिपरलाई रकम असुलीको मनसाय बनाएर दुःख दिनकै लागि अनावश्यक रुपमा रोक्दा गत सातामात्रै टिपर ड्राइभरले बसपार्क पोष्टमा कार्यरत ट्राफिक प्रहरीका जवान टेकराज अधिकारीमाथि हातपात गरेका थिए । यसले ट्राफिक नियम पालनाभन्दा रकम असुलीका ट्राफिक प्रहरी केन्द्रीत रहेको प्रष्ट हुन्छ ।
सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्दा त्यसको न्यूनीकरणमा भन्दा रकम असुल्नेतिर मात्र ट्राफिकको ध्यान गएको आरोप छ । ‘सवारी चालक लाइसेन्स नहुँदा, हेलमेट नलाउँदा, ब्लुबुक नहुँदा, क्षमताभन्दा बढी सामान तथा मानिस बोक्दा ट्राफिक प्रहरीलाई १००–२०० रकम दिएपछि पुग्छ,’ एक जना मोटरसाइकल चालकले भने ।
ट्राफिक नियम पालना गराउनुको साटो बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुल गर्ने गरेको गुनासो पनि बढिरहेको छ । ट्राफिक प्रहरी कार्यालयका चेकपोष्ट भन्दा जङ्गल र एकान्तमा गएर चेकिङ्ग गरेर ट्राफिक प्रहरी रकम असुलीमा केन्द्रीत हुने गरेको आरोप छ ।
पूर्वपश्चिम राजमार्गका सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, रत्न राजमार्गको नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘चेकजाँचको पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले सत्यपाटीलाई बताए ।
दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटनासँगै पछिल्लो समयमा बाँकेका मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ । जसका कारण दिनप्रतिदिन बाँकेमा सवारी दुर्घटना बढ्नुका साथै धनजनको क्षति भइरहेको छ ।
बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुभन्दा पनि सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको सम्वद्धहरु बताउँछन् ।
ट्राफिक प्रहरीको पहिलो काम ट्राफिक नियम पालना गराउनु हो । योसँगै चालकले मापसे गरे/नगरेको, सीट बेल्ट बाँधे/नबाँधेको, हेल्मेट प्रयोग गरे/नगरेको, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोके/नबोकेको लगायतका विषयमा ट्राफिक सम्बन्धी भएका ऐन, नियम कार्यान्वयन गरी सवारी दुर्घटना न्यूनीकरण न्यूनीकरण गर्नु हो ।
सवारी साधनको चेकजाँच र नियमन गरी सवारी दुर्घटना न्यूनीकरण गर्न राज्यले लाखौं रुपैयाँ खर्च गरेर तयार गरेको जनशक्ति राज्यकै खिलाफमा अवैध धन्दातर्फ उन्मूख हुँदै ट्राफिक नियम पालना गराउने ट्राफिक प्रहरी नै गलत धन्दामा लागेपछि सवारी दुर्घटनालाई ट्राफिक प्रहरीले नै ‘प्रश्रय’ दिइरहेको प्रमाणीत हुन्छ ।
‘ट्राफिक नियम कार्यन्वयन गराउनुको सट्टा ओभरलोड गाडी, हेल्मेट नलगाएका मोटरसाइकल चालक लगायतका ट्राफिक नियम कसले उल्लंघन गरेको छ भन्दै हेर्दै यहाँका ट्राफिकको दिन बित्ने गरेको छ,’ एक जनाले नाम नछाप्ने सर्तमा भने, ‘उहाँहरु पैसा असुल्नमा मात्रै व्यस्त हुनुहुन्छ ।’
ट्राफिक प्रहरीले असुल्ने धन्दा मात्र चलाएकोले बाँकेमा ट्राफिक व्यवस्थापनको दिगो समस्याको सामधान हुन नसकेको उनले आरोप छ । छतमा धेरै लोड हाल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, भाडा धेरै लिने लगायतका विषयमा ट्राफिक प्रहरीलाई कुनै वास्ता नभएको सवारी चालकहरु बताउँछन् ।
‘बिभिन्न बहानामा असुली गरिरहेकै हुन्छन्, धेरै पटक त म आफैले दुख पाएको छु, अनावश्यकरुपमा जरिवाना तिरेको छु,’ कोहलपुर–८ का पुर्णबहादुर शाहीले भने, ‘ट्राफिक व्यवस्थापनमा भन्दा जरिवाना काट्ने र पैसा असुल्ने नियतले मात्र सडकमा ट्राफिक चेकिङ हुन्छ । ट्राफिक प्रहरी सर्वसाधारणलाई दुख दिएर पैसा असुल्ने काममा मात्रै ब्यस्त छ ।’
के हो ट्राफिक नियम, कसरी हुन्छ उल्लंघन ?
सहरी तथा यातायात ऐन २०४९ को दफा १६४ अनुसार कुनै ठाउँबाट अर्को निश्चित ठाउँसम्म पुग्ने चलायमान चिजलाई ट्राफिक भनिन्छ । यसभित्र पैदलयात्रु, सवारीचालक वा सवारीसाधन पर्छन् । सडक दुर्घटनाको जोखिमबाट बच्न बनाइएको रुल नै ट्राफिक नियम हो । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नहुनु रहेको छ ।
सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस्, धेरै मानिसले जानेर/नजानेर ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । चालकले तीव्र गतिमा सवारी हाँक्ने, संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कार्य गर्छन् । शिक्षित मानिसले नै बढी नियम उल्लंघन गरेको समेत पाइन्छ । ट्राफिक नियम पालना नगर्नु आफ्नै लागि खतरा हो भन्ने बुझ्दैनन् ।
यी नियम पालना गरौँ
- सडकमा राखिएका मार्किङ (ट्राफिक चिह्न)को सही पालना गर्ने ।
- सडक लेनको पालना गर्ने (सडकमा हुने ५० प्रतिशत दुर्घटना लेन मिचेका कारण हुने गर्छन्) ।
- तोकिएको निश्चित गतिमा सवारी हाँक्ने । व्यस्त सडकमा गति सीमित गर्ने । जथाभावी हर्नको प्रयोग नगर्ने ।
- पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने । सवारीको क्षमताभन्दा बढी यात्रु नबोक्ने ।
- सवारी चलाउँदा हेल्मेट वा फित्ताको प्रयोग गर्ने । सवारीचालक अनुमतिपत्र नलिई सवारी नचलाउने (विदेशमा दर्ता भएको सवारीसमेत) ।
- सवारीसाधन अनिवार्य दर्ता गर्ने गरौँ । सार्वजनिक सवारीको हकमा सडक इजाजतपत्र लिएर मात्र सार्वजनिक ठाउँमा चलाउने ।
- खतरापूर्ण मालसमान ओसारपसार नगर्ने । तोकिएको ढाँचाअनुसार भाडा कायम गर्ने । सडकमा लापरबाही नगर्ने ।
- मादक पदार्थ सेवन गरेर गाडी नहाँक्ने ।
।