काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी दिनुभएको छ ।
सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरिएको बताउनुभयो । उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको उहाँले बताउनुभयो ।
मन्त्री खडकाले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिनुभयो ।
जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतमार्फत युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।
मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानव अधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो ।
मन्त्री खडकाले नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको जिकिर गर्नुभयो ।
उहाँले छिटै राजदूत खाली रहेको स्थानमा राजदूत पठाउने बताउँदै एमसीसी लगायतका कारणबाट त्यसतर्फ सरकारले ध्यान दिन नपाएको उल्लेख गर्नुभयो ।
मन्त्री खड्काले इजरायलका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि सम्झौता भएको, निर्माण क्षेत्रमा नेपाली युवा युवतीलाई पठाउने प्रक्रिया अगाडि बढेको पनि जानकारी गराउनुभयो ।
सरकारले इ–पासपोर्ट लागू गरेको, ७७ जिल्ला र १८ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी वितरण कार्यको सुरुवात भएको मन्त्री खड्काको भनाई छ ।
उहाँले छिट्टै नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय स्तरका भ्रमणहरु हुने र त्यसबारे पछि जानकारी गराउनुभयो । आगामी विमेस्टक सम्मेलनमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिहरू सहभागी हुने मन्त्री खड्को भनाइ छ ।
यस्तै, चीन संघको तातोपानी नाका खोल्नका लागि चिनियाँ राजदूत, चिनियाँ विदेशमन्त्री लगायतसँग छलफल गरेको र त्यसका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
।