धनगढी । धनगढीमा सोमबार बिहान फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव भारतीयको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त शव भारतको उत्तरप्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको भएको खुलेको हो । उनका भाइले शवको सनाखत गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।
‘लकडाउन हुनुअघि उनी नेपालमै रहेको र आजभोलि उनी राजस्थानमा बस्दै आएको भनेर भाइले बताएका छन्,’ डिएसपी जोशीले भने, ‘हिजोमात्र उनी धनगढीस्थित भाइको कोठामा रक्सी खाएर पुगेको र त्यहाँबाट ५० रूपैयाँ लगेर गएको भन्ने अनुसन्धानबाट खुलेको छ ।’
मृतक कुल्दीपको घाँटी र गालामा चोटपटक लागेकाले प्रहरीले उनको हत्या भएको भनेको छ । उनको शरीरको घाउमा काठका टुक्रा भेटिएको र घटनास्थलमा काठको डन्डी पनि भेटिएको प्रहरीले जनाएको छ ।
उक्त काठ घटनामा प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ । शवको पोष्टमार्टम भइरहेको र थप अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए । धनगढी उपमहानगरपालिका–५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा सोमबार बिहान १० बजे कुल्दीपको शव फेला परेको थियो ।
।