सूचनाको शक्ति - The Power Of Information

        

अर्कै पुरुषसँग फोनमा कुरा गरेपछि प्रेमिकाको हत्या

काठमाडौं । अरु नै पुरुषसँग फोनमा कुरा गरेको निहुँमा विवाद बढ्दै जाँदा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । धनकुटा पाख्रीबास नगरपालिका–६ का २४ वर्षीय विनेश रानाले प्रेमिका सुमित्रा तामाङको हत्या गरेको खुलेको छ ।

पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडाकी सुमित्रा ईटहरी उपमहानगरपालिका–५ तुलशाटोलमा डेरामा बस्दै आएकी थिइन् । सुमित्राका श्रीमान विदेश छन् । श्रीमान् विदेश भएकाले विनेशसँग उनी प्रेम सम्बन्धमा थिइन् ।

धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजको कोठामा हत्या भएको प्रहरीले जनाएको छ । कोठाको खाटमाथि ओढ्ने ओढाई सुताएको अवस्थामा फागुन १७ गते बिहान सुमित्राको शव फेला परेको थियो ।

एक महिलाको शव फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा मृतक सुमित्रा भएको खुल्न आएको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा विनेशको संलग्नता भएको खुल्न आएपछि धनकुटा पाख्रिबास नगरपालिका–११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइल सहित विनेशलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान विदेश रहेको बेला विगत १ वर्षदेखि सुमित्रासँग प्रेम सम्बन्ध रहेकोले पटकपटक भेटघाट हुने गरेको थियो । आपसी सल्लाह अनुसार फागुन १५ गते बिहानदेखि उनीहरू उक्त होटलमा बसेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार फागुन १६ गते बेलुकी सुमित्राले अन्य पुरुषसँग मोवाइलमा कुरा गरेको बिषयमा विवाद भएको थियो ।

विवाद हुँदा कुटपिट गरेको र विवाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्या गरी नगद ५ हजार रुपैयाँ र मोबाइल समेत लिई उनी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ । विनेश उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १८:३६