सूचनाको शक्ति - The Power Of Information

        

कार्य सम्पादन मूल्याङ्कन : बझाङमै पहिलो बन्यो केदारस्युँ गाउँपालिका

बझाङ । कार्य सम्पादन मूल्याङ्कनमा बझाङका स्थानीय तहमा केदारस्युँ गाउँपालिका पहिलो नम्बरमा देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो ।

प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३.६ प्रतिशत अङ्क र सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएको छ भने सुर्मा ६९.९३, छविसपाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९, मष्टा ५६.६८ र खप्तडछान्ना गाउँपालिकाले ५६.१० पाएका छन् ।

यस्तै बुंगल नगरपालिकाले ६१.९३ र जयपृथ्वी नगरपालिका ५६.४९, अङ्क पाएका छन् । यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/०८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १७:४२