सल्यान । कोरोनाको महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले लगाएको प्रतिबन्ध हटाएको छ ।
कोरोना संक्रमण घट्दै गएपछि एक सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालय सल्यानले लगाएको प्रतिबन्ध हटाएको हो ।
महामारी घटेकै कारण लगाएको प्रतिबन्ध हटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन नेपाल सरकारबाट भएका निर्णय, संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस,जोखिम नियन्त्रण गर्न स्मार्ट लकडाउन कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०७८ ले दिएको अधिकार प्रयोग गरी लगाइएको प्रतिबन्ध हटाइएको हो‚’ उनले भने ।
प्रचलित कानुनबमोजिम राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिक लगायत क्रियाकलाप प्रचलित स्वास्थ्य मापदण्ड पालना गरी नियमित सञ्चालन गर्न उनले जिल्लाबासीलाई आग्रह गरेका छन् ।
महामारी नियन्त्रण भए पनि नियमित मास्कको प्रयोग गर्न र खोप लगाउन योग्य भएका, छुटेका सबैलाई सम्बन्धित स्वास्थ्यसंस्थामा गएर खोप लगाउन उनले अनुरोध गरेका छन् ।
उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्ने सबैलाई धन्यवाद दिएका छन् । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले जिल्लामा महामारीको रुप नलिए पनि ४ सयभन्दा बढी मानिसहरू संक्रमित भएका थिए ।
।