सूचनाको शक्ति - The Power Of Information

        

घुर्ने मान्छेमा यी आठ संकेत देखिए खतरा

सीएनएन । सुत्दा घुर्नुलाई प्रायः सामान्य रुपमा नै लिइन्छ । तर घुर्नुका पछाडि पनि विभिन्न कारण हुन्छन् । जस्तै कहिलेकाहिँ हामीलाई चिसो लागेर नाक बन्द हुँदा, या सुत्नुभन्दा केही अगाडि मदिरा सेवन गरेमा जिब्रो, घाँटीका मांसपेसी आफैँ रिल्याक्स गर्ने हुँदा घुर्ने गर्दछौँ ।

घुर्नु भनेको हामी अचेत अवस्थामा रहेका बेला घाँटी, मुख, नाकका सफ्ट टिस्युहरूमा जोडले हावा फाल्दा भाइब्रेट भएर निस्कने आवाज हो । तर, कतिपय अवस्थामा हामीले सामान्य रुपमा लिइरहेको घुर्ने बानी चिन्ताजनक पनि हुन सक्ने हाभर्ड मेडिकल स्कुलकी निद्रासम्बन्धी विशेषज्ञ रेबेका रोबिन्स बताउँछिन् ।

जस्तै, घुर्नु भनेको ‘अब्सट्रक्टिब स्लिप एपेनिया’ को मुख्य संकेत हो । यसलाई एकदम गम्भीर समस्या मानिन्छ जसबेला व्यक्तिले थाहा नपाइ एकपटकमा १० सेकेन्ड भन्दा बढी समय सास नफेरि निदाइरहेको हुन्छ । यसले मान्छेमा थकान बढाउने, रिस धेरै उठ्ने, रक्तचाप एकदम बढ्ने, स्ट्रोक या मुटु फेल हुने अनि कतिपय अवस्थामा हृदयाघात भई मान्छेको मृत्यु पनि हुनसक्छ ।

यसरी स्लिप एपेनिया हुनेहरूको प्रारम्भिक मृत्यु हुने जोखिम दुई गुणा बढी हुन्छ । जोन्स हप्किन्स मेडिसिनको रिसर्च अनुसार यसले व्यक्तिको जीवन आयु धेरै वर्षले घटाइदिन्छ । रोबिन्स भन्छिन्, ‘जब घुर्दा एकदमै ठूलो आवाज आउँछ या सास फेर्दा बीचमा धेरै रोकिन्छ त्यो नै चिन्ता गर्ने अवस्था हो ।’

विश्वव्यापी रुपमा ९३ करोड ६० लाख मानिसहरू यो अब्सट्रक्टिभ स्लिप एपेनियाको समस्याबाट गुज्रिरहेका हुन्छन् जसमध्ये अधिकांशले पहिचान नगर्दा जोखिमपूर्ण स्थितिमा पुग्छन् । स्लिप एपेनिया हुँदा दिमागले हाम्रो शरीरलाई सास फेरिरहनुपर्छ भनिरहँदा पनि नाक, मुख घाँटीका सफ्ट टिस्यु कमजोर या एकदम भारी हुँदा हावा शरीरको भित्र बाहिर गर्न कठिन हुन्छ ।

अर्का विशेषज्ञ डाक्टर राज दास गुप्ताले भनेका छन्, ‘तपाईँले पेट र छातिमार्फत् सास फेर्न एकदम प्रयास गरिरहनु भएको हुन सक्छ । तर आफ्नो त्यो सघंर्षबारे तपाईँले थाहा पाइरहनु भएको हुँदैन । त्यसैले तपाईँलाई हेर्ने मान्छेका लागि सो दृश्य भयावह हुन सक्छ ।’

यसरी स्लिप एपेनियालाई उपचार नगरि यत्तिकै छोडियो भने उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह, डिप्रेसन या अकाल मृत्यु हुन सक्छ । उसो भए आफूलाई स्लिप एपेनिया भएको कसरी थाहा पाउने त । स्वास्थ्यविद्हरूका अनुसार यसका विभिन्न चेतावनीपूर्ण संकेत छन् । र यदि कसैमा यी सबै संकेत या यी मध्ये केही उल्लेखनीय रुपमा देखा परेको छ भने सचेत रहनुपर्ने हुन्छ ।

१. एकदमै ठूलो स्वरममा घुर्नु

घुर्नु यसको मुख्य संकेत हो । तर यसमा सामान्य सानो घुराइ होइन । यो भनेको बन्द कोठाको बाहिर टाढाटाढासम्म सुन्न सकिनेगरी एकदमै ठूलो स्वरमा घुर्नु हो ।

२. लगातार थकान

दिनभरि एकदमै थकित अवस्थामा रहनु भनेको पनि अपूरा निद्राको मुख्य संकेत हो । र घुर्ने सँगै यसलाई पनि स्लिप एपेनियाको लक्षण मानिन्छ । रोबिन्सका अनुसार केही नगर्दा पनि लगातार थकित बन्नु या निद्रा लागिरहे जस्तो हुन्छ ।

रोबिन्स भन्छिन्, ‘जुनसुकै समयमा पनि निदाउन सक्नु, जस्तै खाजा खाने ब्रेकमा या फिल्म हलमा बस्दाबस्दै निदाउनु जस्ता लक्षणलाई गम्भीरतापूर्वक लिनुपर्छ । यससँगै तपाईँले घरभरि सुनिनेगरी घुर्नुहुन्छ भने यसबारे गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

३. घुर्दाघुर्दै सास फेर्न नसकेर ब्युँझिनु

प्रायः मानिसहरूलाई आफू घुरेको थाहा हुँदैन । तर कतिपय अवस्थामा लामो समय सास रोकिँदा तपाईँ निसास्एिर ब्युँझिन सक्नु हुन्छ । यो भनेको घुर्नु भन्दा खराब लक्षण हो । एपेनियाको अर्थ नाकबाट कुनै हावा बाहिर भित्र नगर्नु हो ।

त्यसैले तपाईँलाई यस्तो धेरैपटक हुने गर्दछ भने यो वास्तवमै खतरनाक कुरा भएको डाक्टर दासगुप्ताले बताए । यस्तो हुनको अर्थ तपाईँको घुराइ सामान्य होइन । त्यसैले यसलाई ध्यानपूर्वक निगरानी गर्नुपर्ने हुन्छ ।

४. अप्रत्याशित उच्च रक्तचाप

स्लिप एपेनियाले गम्भीर रुप लिँदै जाँदा व्यक्तिको रक्तचाप पनि एकदमै बढ्ने गर्दछ । व्यक्तिले हरेकपटक केही सेकेन्डका लागि सास फेर्न छोड्नासाथ शरीरको ‘सिम्पेथेटिक’ स्नायु प्रणाली सक्रिय हुन्छ र रक्तचाप बढाइदिन्छ । यससँगै शरीरमा स्ट्रेस हर्मोन, ‘केटेकोलामाइन्स’ उत्पादन हुन थाल्छ ।

यसले पनि बिस्तारै रक्तचाप बढाउँदै लैजान्छ । रक्तचाप बढ्नु आफैँमा स्लिप एपनियाको संकेत होइन । तर यदि अन्य लक्षणसँगै देखा परेमा चाहिँ सावधान हुनुपर्ने हुन्छ । र स्लिप एपेनियाको उपचार गरिसकेपछि रक्तचाप पनि आफैँ नियन्त्रणमा आउँछ र कम हुँदै जानेछ ।

५. ‘बडी मास इन्डेक्स’ या मोटोपना

‘बडी मास इन्डेक्स’ भनेको व्यक्तिको तौलको स्तर मापन गर्ने स्कोर हो । बीएमआइ निकाल्न व्यक्तिको तौल र लम्बाइको तुलनात्मक डाटाको हिसाब गरिन्छ । यदि बीएमआइ १८.५ देखि २४.९ सम्म छ भने यसको अर्थ तपाईँको तौल एकदम ठीक छ । तर बीएमआइ २५ देखि २९.९ का बीच आयो भने तपाईंको तौल बढी छ ।

अझ ३० भन्दा माथि माथि पुगेमा चाहिँ तपाईँ मोटोपनाको शिकार हुनुभएको भनेर बुझ्न सकिन्छ । यसरी बीएमआइ ३५ भन्दा धेरै हुने मानिसहरू प्रायः स्लिप एपेनियाबाट गुज्रिएका हुन्छन् । किनकी सुत्दाखेरि अतिरिक्त तौलले मुख, जिब्रो र घाँटीका सफ्ट टिस्युमा प्रभाव पार्ने हुँदा नघुरि सजिलै सास फेर्नै नसक्ने हुन्छ । रोबिन्स भन्छिन्, ‘यसकारण तौल घटाउनुले स्लिप एपनिया पनि ठीक गर्न सक्छ ।’

६. उमेर

हाम्रो उमेर बढ्दै जाँदा घाँटीका मांसपेसी पनि कमजोर हुँदै जान्छन् । त्यसैले तपाईँको उमेर ५० वर्ष भन्दा माथि छ भने तपाईँको घुराइ स्लिप एपेनियामा परिणत हुन सक्छ । तर यसमा अर्को राम्रो खबर के छ भने रिसर्चहरूका अनुसार जेष्ठ उमेरकामा हुने स्लिप एपनिया मध्यम किसिमको हुन्छ । यसको अर्थ हामी युवा अवस्थामा हुँदा यसका असर बढी गम्भीर हुने गर्दछ ।

७. घाँटी

वंशाणुगत या मोटोपनाका कारण ठूलो घाँटी हुनु पनि सम्भावित स्लिप एपेनियाको संकेतक हुन सक्छ । डाक्टर दास गुप्ता भन्छन्, ‘यसको अर्थ तपाईँ आत्तिदै आफ्नो प्रियजनको घाँटी नाप्न जानुपर्छ भन्ने होइन ।’

पुरुषहरूमा १७ इन्च भन्दा ठूलो घाँटी हुनु र महिलामा १६ इन्च हुनुले स्लिप एपनियाको उच्च जोखिममा पार्न सक्छ । त्यसैले यससँगै तपाईँमा अन्य संकेत पनि देखिएका छन् जस्तै थकान, ठूलो स्वरमा घुर्ने, उच्च रक्तचाप भने मात्र आत्तिनुपर्ने अवस्था आउँछ ।

८. महिलाभन्दा पुरुषहरू बढी जोखिममा

पुरुषहरूमा महिलाको तुलनामा ‘अब्सट्रक्टिभ स्लिप एपेनिया’ को जोखिम बढी हुन्छ । यसको कारण हो उनीहरूको जिब्रो । पुरुषहरूको जिब्रो महिलाको भन्दा मोटो हुने गर्दछ र यसका साथै उनीहरूको शरीरको माथिल्लो भागमा पनि महिलामा भन्दा बढी फ्याट हुन्छ ।

विशेषगरी घाँटीमा र पेटमा जसले सुत्दा सास फेर्न कठिन बनाइदिन्छ । तर महिलाहरूमा पनि ‘मेनोपज’ अर्थात महिनावारी रोकिएपछि स्लिप एपेनिया बढी हुने गरेको दासगुप्ताले बताए । त्यसैले यी सबै लक्षणहरू मूलयांकन गरि हामीले आफैँ कत्तिको जोखिममा छौँ भनेर जाँच गर्न सक्छौँ ।

यदि यी मध्ये ५–८ वटा संकेत मिल्छन् भने तपाईँ अब्सट्रक्टिभ स्लिप एपेनियाको उच्च जोखिममा हुन सक्नु हुन्छ र डाक्टरसँग यसबारे कुरा गरेको राम्रो हुनेछ । किनकी यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिनुपर्ने डाक्टर गुप्ता बताउँछन् ।

स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई कहिल्यै बेवास्ता गर्नु नहुने अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनले पनि जनाएको छ । यसमा भनिएको छ, ‘यो आगो लाग्दाको अलाम जस्तै हो घुर्न भनेको खतराको संकेत हुन सक्छ र त्यसप्रति हामीले ध्यान दिन जरुरी छ ।’

तर यदि तपाईँले सबै लक्षणहरूको हिसाब गर्दा शून्यदेखि दुई स्कोर गर्नुभयो भने चाहिँ तपाईँको घुराइ स्वास्थ्यका लागि त्यति गम्भीर कुरा नभएको थाहा हुनेछ । त्यस्तै ३ देखि ४ स्कोर पाउनेहरू चाहिँ मध्यम स्तरको जो्खिममा हुन सक्छन् । तरपनि यसको अर्थ हामीले यी लक्षण बेवास्ता गर्नुपर्छ भन्ने चाहिँ होइन ।

त्यसैले परीक्षण गराउनु नै उत्तम हुने दास गुप्ताले बताए । स्लिप एपनियाको उपचार भनेको ‘कन्टिनियस पोजिटिभ एयरवे प्रेसर’ या सीपीएपी हो । यसमा नाकमा मास्क लगाएर फोक्सोमा हावा पसाइन्छ । यो डिभाइसले रातभर सासको बहावमा अवरोध आउन दिँदैन । त्यस्तै तौल घटाउनुले पनि उल्लेखनीय रुपमा यो अवस्था सुधार गर्न सक्छ । सीएनएनबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार १०:४४