सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

अस्ति शुक्रवारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

आजको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठानिक विषयमा छलफल हुने पार्टीका  सचिव  श्रीराम  ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय सभागृहमा शुक्रवार बसेको बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल भएको थियो । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले एमसीसीमाथि धारणा राख्नुभएको थियो ।

प्रचण्डले नेता श्रेष्ठले राखेको असन्तुष्टिबारे व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने आफ्नो निर्णय बाध्यात्मक परिस्थितिको उपज भएको भन्दै बचाउ गर्नुभएको थियो ।

नेता श्रेष्ठले एमसीसीका विषयमा फरक मत राखे पनि पार्टी एकतामा जोड दिनुभएको थियो । एमसीसी अनुमोदनपछि गएको सोमवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विरोध गर्नेहरु पार्टी छाडेर जान सक्ने सङ्केत गर्नुभएको थियो । त्यसपछि नेता श्रेष्ठले आफूनिकट नेताहरुसँग छुट्टै छलफल समेत गर्नुभएको थियो ।

माओवादीको आठौँ महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य चयन गरे पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन । विधानअनुसार २९९ केन्द्रीय समिति हुने व्यवस्था छ, जसमा ६३ जना मनोनीत गर्न बाँकी छ । जारी केन्द्रीय समिति बैठकले स्थायी र पोलिटब्युरो गठन र केही केन्द्रीय सदस्य मनोनीत गर्नेछ ।

विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । गएको पुस १९ गतेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर त्यसयता माओवादीले अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०९:४२