सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा समृद्धि

बाँकेसहित चार जिल्लामा ‘जिङ्कयुक्त मकै खेती’, किसान खुसी

बाँके । भर्खरै सुरु गरिएको जिङ्कयुक्त मकै खेतीबाट किसानले राम्रो लाभ लिनसक्ने देखिएको छ ।

मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्व जिङ्कको कमीले बर्सेनि धेरैको ज्यान जाने गरेकाले जनस्वास्थ्यलाई ध्यानमा राखेर बाँकेमा जिङ्कयुक्त मकै खेती सुरु गरिएको हो ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालका अनुसार जिङ्क विभिन्न खाद्यवस्तुमा पाइने पोषक तत्व हो । खाद्यान्न, गुडागुडी, माछामासु लगायतमा यो तत्व पाइन्छ ।

यसले बालबालिकाको शारीरिक विकास र रोगप्रतिरोध क्षमता वृद्धि गर्न सहयोग गर्छ । अन्य खाद्यान्नमध्ये जिङ्कको सबैभन्दा धेरै मात्रा मकैमा पाइन्छ ।

सामान्यतः मकैमा २१ प्रतिशत जिङ्क हुने गरेकामा नयाँ विकास गरिएको मकैको जातमा साढे ३१ प्रतिशत जिङ्क पाइएपछि बाँकेसहितका चार जिल्लामा यसको उत्पादन सुरु गरिएको ढकालले बताए ।

प्रयोगशालामा परीक्षण गर्दा यस्तो नतिजा पाइएपछि बाँके, बर्दिया, रुकुम र जाजरकोटमा यो जिङ्कयुक्त मकैको बीउ उत्पादन र वितरण गरी खेती सुरु गरिएको प्रमुख ढकालले बताए ।

बर्दियाको मैनापोखर, बाँकेको बेतहनी, रुकुमको खोलागाउँ र जाजरकोटको कार्कीगाउँमा गरी पहिलो चरणमा १० हेक्टर जमिनमा यसको खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाँके जिल्लाको वैजनाथ, बेतहनी लगायतका क्षेत्रमा यस वर्ष जिङ्कयुक्त मकैको राम्रो उत्पादन भइरहेको अनुगमनबाट देखिएको ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।

ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार अन्य जातको मकैभन्दा धेरै फल्ने, बीउ बनाएर बेच्दा नाफा हुने भएपछि यहाँका किसान पनि खुसी भएका छन् ।

यो मकै रोपेको ११० दिनमा तयार हुन्छ । बाँके बेतहनीका किसान रामरूप बर्माले सिँचाइ कम हुँदा पनि यो मकै राम्रो फल्ने भएकाले किसान खुसी भएको बताए ।

यो स्वास्थ्यका लागि निकै राम्रो हुने भएपछि माग पनि धेरै हुने उनको भनाइ छ । बर्दियाको बारबर्दिया नगरपालिकामा साढे चार बिघामा यो मकैको खेती गरिएको छ । गोरखापत्रमा समाचार छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०७:५४