सूचनाको शक्ति - The Power Of Information

        

आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दशौँ अधिवेशनको १० औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०७:१६