सूचनाको शक्ति - The Power Of Information

        

रूसी सेनाविरुद्ध लड्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा रुसीद्वारा कब्जा गरिएका क्षेत्रका नागरिकलाई रुसी सेनाविरुद्ध लड्न आग्रह गरेका छन् ।

शनिवार राति युक्रेनी जनतालाई सम्बोधन गर्दै कब्जा गरिएका क्षेत्रहरुमा भ्लादिमिर पुटिनको सेनाविरुद्ध लड्न युक्रेनी नागरिकलाई आग्रह गरेका हुन् ।

‘युक्रेनीहरू, हाम्रा सबै सहरहरूमा, जहाँ शत्रुले आक्रमण गरे, आक्रमणमा जानुहोस्,’ उनले भने, ‘सडकमा निस्किएर हामीले अवसर पाएको समयमा लड्नुपर्छ ।’

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा आगामी साता अधिक स्टार लिंक स्याटेलाइट इन्टरनेट टर्मिनलहरू प्राप्त गर्ने बताए ।

उनले स्पेस एक्सको सिइओ एलोन मस्कसँग कुरा गरेको जानकारी दिँदै सम्भावित अन्तरिक्ष परियोजनाहरूबारे छलफल गरेको उल्लेख गरे ।

स्टारलिंकले अन्तरिक्षबाट उच्च–गतिको इन्टरनेट प्रदान गर्दछ । मस्कले बिहीवार मात्रै यो प्रणाली गैररुसी सञ्चार प्रणाली भएकाले रूसको आक्रमणपछि पनि युक्रेनको केही भागहरूमा अझै काम गरिरहेको बताएका थिए ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रूसको आक्रमण असफल भएको सुनिश्चित गर्न विश्व नेताहरूबीच नयाँ प्रयास गर्न आह्वान गरेका छन् ।

जोनसनले नाटो देशहरूमा द्रुत रूपमा प्रतिरक्षा बलियो बनाउनेसहित ६ बुँदे योजना बनाएको न्यूयोर्क टाइम्सलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०७:०९