– आदित्यमान श्रेष्ठ
एमसीसीको विषयलाई लिएर आजसम्म कसैमाथि पनि त्यसरी आक्रमण भएको समाचार सुन्नमा आएको छैन, तर मानिसहरूको मनमा त्रास र भयले बास भने गरिसकेको छ । एमसीसी सम्झौताले छिमेकी मुलुक चीनको मनमा भने चीसो पसेको संकेतहरू देखा परेका छन् ।
धेरै वादविवाद, विरोध–अवरोध र होहल्लासँगै नेपालको संसदबाट एमसीसी सम्झौता पास गरियो । यो सम्पूर्ण प्रकरणमा धेरै अस्वाभाविक कुराहरू देख्न पाइयो । सर्वप्रथम त प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनका लागि जुन अडान लिए त्यो नै अस्वाभाविक थियो । जसरी सत्ता गठवन्धनका अन्य दलहरूलाई करकापमा पारेर यो सम्झौता पास गरियो, त्यसबाट उत्पन्न परिस्थिति र भविष्यमा त्यसले पार्न सक्ने प्रभावलाई हेर्दा एमसीसीले नेपालको राजनीतिमा मात्र होइन नेपालको राष्ट्रिय जीवन शैलीमा नै खलबली पैदा गरिदिएको मान्न सकिन्छ ।
तर यी कुराहरूलाई मनन गरेर समस्या समाधान गर्ने कुरामा वर्तमान सरकारले एकदमै उदासीन देखिएको छ, यस्तो लाग्छ, यो विषयमाथि न सरकारले ध्यान देखाएको छ, न समस्या समाधान गर्न सक्षम नै छ । एमसीसी पास भएका खण्डमा नेपालमा ठुलो असुरक्षाको भावना फैलिन्छ भनेर पहिले पनि भनिसकिएकै हो । डा.बाबुराम भट्टराईले पनि भनिसकेका छन्, ‘अब यस्तो समय आयो जब नेपाली सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा निडर भएर जान सक्दैनन् । उनीहरूलाई डर छ कि कसैले उनीहरूमाथि भौतिक कारवाही गर्न सक्छन् ।
हुन पनि संसदबाट एमसीसी पास गर्ने सिलसिलामा सांसदहरूलाई ज्यान मार्ने सम्मको धम्की दिइएको थियो । एमसीसीको विषयलाई लिएर आजसम्म कसैमाथि पनि त्यसरी आक्रमण भएको समाचार सुन्नमा आएको छैन, तर मानिसहरूको मनमा त्रास र भयले बास भने गरिसकेको छ । एमसीसी सम्झौताले छिमेकी मुलुक चीनको मनमा भने चीसो पसेको संकेतहरू देखा परेका छन् । नेपालमा भएका परिवर्तनहरूमाथि कहिल्यै आफ्नो प्रतिक्रिया नजनाउने कम्युनिष्ट राष्ट्र चीन यो सम्झौताबाट भने तर्सिएझैँ गर्दैछ । उसले एमसीसी सम्झौता मुख्यतः चीनकै विरोधका लागि आएको ठानेको छ ।
अमेरिकाले स्पष्टसँग ‘एमसीसीलाई नेपालको संसदले पास गरेन भने यसमा चीनकै हात रहेको अमेरिकाले ठान्ने छ’ अभिव्यक्ति दिएको थियो । अब एमसीसी संसदबाट पास भएपछि चीनले नेपाललाई अर्घेलो सम्झिएको खण्डमा पनि त्यसलाई अन्यथा लिन सकिन्न । भोलि नेपाली भूमिमा चीन र अमेरिकाको भिडन्त हुने त होइन भनेर मानिसहरू अड्कल लगाउँदै छन् । भविष्यमा त्यस्तो भइहाल्यो भने पनि त्यसमा आश्चर्य नमाने हुन्छ किनकी एमसीसी प्रकरणले नेपालले नै यस्तो अवस्था सिर्जना गर्न खोजेको देखिएको छ ।
एमसीसी पास गरेर नेपाल अमेरिकाको निकट हुन चाहेको र केही व्यक्ति उनीहरूको प्रियपात्र बन्न चाहिरहेको कुरा बुझ्न गाह्रो छैन । यदी त्यसो हो भने उनीहरूलाई पानामाका जनरल नोरियगाको कथा सम्झाइदिनु उचित हुनेछ । नोरियगा पानामाको राष्ट्रपतिको पदसम्म पुगेका व्यक्ति हुन् । तर उनलाई अमेरिकी सेनाले जवर्जस्ती अमेरिका पु¥याए र लामो समयसम्म बन्दी बनाइर जेलमा सडायो । अमेरिका जस्तो शक्तिशाली देशले चाहेका खण्डमा उसले जे पनि गर्न सक्छ भत्रे कुराको यो राम्रो उदाहरण हो ।
सन् १९८१ देखि १९८७ को अवधिमा नोरियगा अमेरिकासँग निकट सम्बन्ध स्थापित गर्न सफल भए । अमेरिका सुरक्षाको खोजीमा थियो भने नोरियगा अमेरिकाको दलाली गरेर व्यक्तिगत स्वार्थलाई बढावा दिन चाहन्थे, त्यसैले उनीहरूको सम्वन्ध मिल्न गएको थियो । सन् १९७९ र १९८१ बीचको अवधिमा निकारागुवा र एल साल्भाडोरमा भैरहेको आन्तरिक कलहले गर्दा अमेरिका लाई कसैको सहयोग आवश्यक भइरहेको थियोे । यस्तोमा नोरियगाले अमेरिकाको साथ दिए । नोरियगाले अमेरिकाको चालबाजी सफल बनाउन पैसा र हतियार दुबै हात पारे ।
निकारागुवाका कन्ट्रा विद्रोहीहरूलाई सहयोग गर्न आफ्नो देश पानामामा अमेरिकी गुप्तचर विभागलाई काम गर्न छुट दिए । अर्कोतिर एल साल्भाडोरमा चलिरहेको वामपन्थी विद्रोहीहरूलाई दबाउन पनि उनले उत्तिकै सहयोग गरे । उनले सन् १९८६ मा निकारागुवामा आक्रमणको तैयारी गर्न त्यहाँका विद्रोहीहरूलाई पानामाको भूमि प्रयोग गर्न दिएका थिए । यसको बदलामा अमेरिकाले नोरियगालाई वर्षको एक लाख दस हजार डलर दिने गर्दथ्यो भनेर नोरियगाका जीवनी लेखकले भनेका थिए । समयक्रमसँगै यो रकम बढ्दै गएर दुई लाख डलरसम्म पुगेको कुरा पनि बताइएको थियो ।
उनले यसरी अमेरिकालाई खुसी पारेर यति नै रकम पाए भनेर तोकेरै भन्न नसकिए पनि उनले ठूलै रकम हात पारेको सबैतिरबाट पुष्टि भइसकेको छ । जे भए पनि कुनै समय यस्तो थियो कि पानामाको नोरियगा अमेरिकाको ज्यादै नजिकका आफन्त जस्तै बनेर बसेका थिए । तर अमेरिका र नोरियगाबिचको त्यो सम्बन्ध दीगो भने बन्न सकेन । नोरियगामाथि अमेरिकामा अवैध नशालु लागुपदार्थको कारोबार गरेको आरोप लाग्यो । उनले विशेषगरी अमेरिकामा कोकिन पठाउने गरेको पत्ता लाग्यो । नोरियगाको कारवाहीलाई नियन्त्रण गर्न सके अमेरिकामा हुने लागू पदार्थको प्रयोग धेरै कम गर्न सकिन्छ भत्रे निश्कर्ष अमेरिकाले निकाल्यो ।
सन् १९८९ मा नोरियगालाई हटाउन एउटा सैनिक षडयन्त्र पनि गरिएको थियो जुन सफल भने हुन सकेन । त्यस पछि अमेरिकाले पानामामा सैन्य कावाही गर्यो र सन् १९९० मा नोरियगालाई पक्राउ गरेर अमेरिका पुर्यायो । सन् १९९२ मा नोरियगालाई अमेरिकामा कोकिन पठाएको र लागू पदार्थको व्यापारबाट कमाएको पैसा तलमाथि गरेको अपराधमा ४० वर्षको कैद सजाय भयो । सबैभन्दा आश्चर्यको कुरा रह्यो हो भने नोरियगाले आफ्नो बयानमा अमेरिकी अदालतका न्यायाधीशहरूलाई उनले कसरी अमेरिकाको सीआईएलाई सहयोग गरेका थिए भनेर आफ्नो रक्षा गर्न खोजेका थिए । तर अदालतका न्यायाधिशहरूले उनको यस्ता कुराहरू सुत्रै चाहेनन् ।
त्यो कुराको लागू पदार्थको आपूर्तिसँग कुनै सम्बन्ध छैन भनेर अमेरिकाले नोरियगालाई दोषी करार गरिदियो । त्यस्तै अर्को कथा ओसामा बिन लादेनको छ । बिन लादेन सउदी अरेबियाका नागरिक थिए । तर उनी अफगानिस्तान गए र रुसको विरोधमा लडे । रुसले आफ्नो सेना पठाएर अफगानिस्तान कब्जा गरेको थिए । त्यसको विरोध गर्न बिन लादेन अफगानिस्तान गएका थिए । उनले रुससित लडदै गर्दा अमेरिकाको समर्थन र सहयोग पाए । रुसको विरुद्धमा अमेरिका र बिन लादेन एक भए । अमेरिकाले बिन लादेनलाई पैसा र हतियार उपलव्ध गराएर सघाउ पुर्यायो र अन्ततः पछि रुस अफगानिस्तान छोड्न बाध्य पनि भयो ।
बिन लादेनले अमेरिकाको ट्वीन टावरलाई ध्वस्त पार्न अमेरिकी हवाईजहाजलाई नै हतियार बनाए । अमेरिकाले अफगानी सरकारलाई बिन लादेनलाई समातेर अमेरिकालाई सुपुर्दगी गर्न भने । तर अफगानिस्तान मानेन । त्यसपछि अमेरिकाले अफगानिस्तानको सरकारलाई नै हटाएर बिन लादेनलाई समात्न खोजेको थियो । तर बिन लादेन भागेर गए र पाकिस्तानमा लुकेर बसे । केही कालपछि अमेरिकाले उनी बसेको ठाउँ पत्ता लगायो र आफ्नो सेना पठाएर रातारात उसको हत्या गरिदियो । पाकिस्तानी सरकारलाई यसबारेमा कुनै अत्तोपत्तो थिएन । यत्रो काण्ड मच्चाएर सबै काम सम्पन्न गरिसकेपछि मात्र त्यहाँको सरकारले यसबारेमा जानकारी पायो ।
अमेरिकाको विरोधमा पाकिस्तानले केही गर्न पनि सकेन र बिस्तारै यो कुरा यत्तिकै सेलाएर गयो । यस्ता धेरै उदाहरणहरू पाइन्छन् जसमा शुरूमा अमेरिकाले आफ्नो मान्छे भनेर सहयोग गरेको हुन्छ । तर आफ्नो स्वार्थ विपरीत जस्ले काम गर्छ उसलाई कुनै पनि हालतमा छाड्दैन । एउटा सरकार गए पनि अर्को सरकारले त्यस्ता मानिसमाथिको कार्यवाहीलाई निरन्तरता दिएकोे देखिन्छ । यो एउटा राष्ट्रिय स्वार्थसित गाँसिएको कुरा हो । अमेरिकाको लागि कोही पनि आफ्नो र पराई भत्रे हुँदैन । आफ्नो स्वार्थ पूरा गर्न उसलाई जसले साथ दिन्छ त्यसबेलासम्म त्यो अमेरिकाको आफन्तजस्तो देखिन्छ । तर अमेरिकाको इच्छा र इशाराभन्दा बाहिर जाने जो कोहीलाई पनि अमेरिकाले संसारको कुनै कुनामा गए पनि बाँकि राख्दैन । यो कुरा हाम्रा मानिसहरूले पनि राम्ररी बुझेको हुनुपर्दछ । (स्वतन्त्र समाचार सेवा)
।