सूचनाको शक्ति - The Power Of Information

        

झापा विद्रोहका ५० बर्ष

सुखानीमा पाँच युवाको हत्या भएको दिन

इलाम । आज सुखानी शहीद स्मृति दिवस । अर्थात् मुलुकमा लोकतन्त्र स्थापनाका लागि भनी ‘झापा विद्रोह’मा लागेका पाँच योद्धाहरूलाई तत्कालीन पञ्चायती शासकले हत्या गरेको दिन ।

नेपाली राजनीतिक इतिहासमा ‘झापा विद्रोह’को रुपमा चिनिएको आन्दोलनका लागेका पाँच योद्धालाई पञ्चायती शासकले कारागार सार्ने निहुँमा २०२९ सालमा सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

२०२८ देखि २०३० सम्म झापामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । उक्त विद्रोहमा लागेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती शासकले हत्या गरेको थियो ।

पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै संख्यामा पाँच रुखसँगै जोडिएर हुर्केका छन् । सुस्ताएको कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट अघि बढेपछि पञ्चायती शासकले दमन गर्ने क्रममा २०२९ फागुन २१ गते सुखानीको उनीहरूको हत्या गरेको थियो । सोही विद्रोहका जगमा नेपालमा कम्युनिष्ट पार्टीहरू उभिएको बताइन्छ ।

सुखानी उद्यानमा स्मृति दिवस

इलामको माई नगरपालिका–४ मा सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमुना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।

आजै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको अर्जुनधारामा रहेको शहीदहरूको शालिकमा माल्यार्पण गरेर सम्मान जनाए । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र कृषिमन्त्री झलकसिंह दलार्मी शनिवार १ बजे सुखानी पुगेका छन् ।

मनकुमारको सम्झनामा सुखानी हत्याकाण्ड

झापा विद्रोहमा लागेर १८ वर्ष कारागार जीवन बिताएका एमाले नेता मनकुमार गौतम पाँचै योद्धाले सुखानीको जंगलमा हाँसीहाँसी बलिदान स्वीकारेको बताउँछन् । ‘पञ्चायती शासकहरूसँग आत्मसमर्पण गरेको भए उनीहरूको ज्यान जोगिन सक्थ्यो होला,’ गौतमले भने, ‘तर बलिदानी भावनाले ओतप्रोत झापाका क्रान्तिकारीहरूले पञ्चायतसँग झुक्नुभन्दा मृत्युलाई रोजे ।’

गौतमलाई पनि साधुको भेषमा भूमिगत राजनीतिमा क्रियाशील भएकै अवस्थामा पञ्चायती शासकले गिरफ्तार गरी १८ वर्ष थुनामा राखेको थियो । कारागार सारेको घटनाका प्रत्यक्षदर्शी गौतम पाँच क्रान्तिकारीहरूसँगै कारागारमा थिए ।

‘चन्द्रगढी कारागारको ५ नम्बर कोठामा ५ शहीदहरूसँगै हामी १५ जना राजनीतिक बन्दीहरू थुनिएका थियौं,’ २०२९ फागुन २१ गते बिहान करिब ११ बजेको घटना सम्झिँदै गौतम भन्छन्, ‘उहाँहरू पाँच जनालाई मात्र बाहिर निकालियो र पुलिसको गाडीमा चढाएर इलाम जेलमा सार्ने भनेर लगियो ।’

साथीहरूसँग कसिलो हात मिलाएर बिदा हुनुअघि पाँच जनामध्येका अगुवा दाहालले भनेका कुरा सम्झिँदै गौतमले भने, ‘कमरेडहरू, आज हामी मारिन जाँदैछौं, क्रान्तिका निम्ति हामी बलिदान हुन जाँदैछौं, अब हाम्रो फेरि भेट हुँदैन । तपाईँ बचेका कमरेडहरूले क्रान्तिको झण्डा निरन्तर उठाइरहनुहोला ।’

हतकडी र खुट्टामा नेल लगाएर झापाको सदरमुकाम चन्द्रगढीबाट शनिश्चरेसम्म गाडी चढाएर लगेपछि त्यहाँबाट पैदलै हिँडाएर सुखानीको एकान्त जंगलमा लहरै उभ्याएर प्रहरीले गोली हानेर हत्या गरेको गौतम बताउँछन् । सुखानीमा पाँच जनाले शहादत प्राप्त गरेको ४३ वर्षपछि २०७२ फागुन १९ गते उनीहरूकै सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषद्ले उनीहरूलाई शहीद घोषणा गरेको थियो ।

विसं २०२८ देखि २०३० सम्म भएको झापा विद्रोहको नेतृत्व एमाले अध्यक्ष ओली, नेकपा (माले)का महासचिव सिपी मैनाली र वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनाली (आरके मैनाली)ले गरेका थिए । मनमोहन अधिकारीको नेतृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरी २०२८ सालमा आरकेको नेतृत्वमा झापामा सशस्त्र आन्दोलनको घोषणा गरिएको थियो ।

आरके बिरामी भएपछि सोही सालको उत्तरार्द्धतिर ओलीको नेतृत्वमा पार्टी पुनर्गठन गरेर झापा जिल्ला को–अर्डिनेशन कमिटी नेकपा माले गठन गरिएको गौतम बताउँछन् । झापा विद्रोह उत्कर्षका बेला ओलीले नै नेतृत्व गरेको जनाउँदै गौतमले २०३० सालमा सीपीको नेतृत्वमा नेकपा माले जिल्ला कमिटी गठन भएको बताए ।

जनयुद्ध ‘झापा विद्रोह’ कै निरन्तरता

२०५२ फागुन १ गते जनयुद्ध घोषणा गरी सशस्त्र आन्दोलनमा होमिएको तत्कालीन नेकपा (माओवादी)ले झापा विद्रोहलाई आफ्नो ‘प्रेरणाको स्रोत’ मानेको थियो । झापामा माओवादी विद्रोहको अगुवाइ गरेकी नेतृ धर्मशीला चापागाईँले भनिन्, ‘झापा विद्रोहकै जगमा जनयुद्ध भयो र आजको परिस्थिति ल्याउन सकियो ।’

उनका अनुसार माओवादीले सशस्त्र द्वन्द्वकालमै सुखानीको स्मृतिमा इलामको दानाबारीमा जनसेना फौजको कनाम सुखानी स्मृति ब्रिगेड राखेको र ‘सुखानी आवाज’ पत्रिकासमेत प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १५:१३