सूचनाको शक्ति - The Power Of Information

        

रुसले गर्‍यो युक्रेनका दुई सहरमा युद्धविराम

काठमाडौं । रुसले आम मानिसको सहायताका लागि युक्रेनका मारिउपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ ।

रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि मानिसहरुलाई यी दुई सहरबाट सुरक्षितरुपमा जान दुई कोरिडोरहरु खुला गरिनेछ ।

मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा युक्रेनका अधिकारीहरु पनि युद्धविरामको लागि सहमत भएको उल्लेख छ । यद्यपि युक्रेनको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि मारिउपोलका मेयर भादिम बोइचेन्कोले सहरका मानिसहरुलाई मानवीय सहायता आवश्यक परेको उल्लेख गरेका थिए । उनले सहरमा अहिले नाकाबन्दी र रुसी सेनाले निर्मम आक्रमण जारी राखेको उल्लेख गरेका थिए ।

पछिल्लो केही दिनयता रुसको मारिउपोलमा रुसी सेनाले निरन्तर आक्रमण गर्दै आएका छन् । यद्यपि युक्रेनका अन्य केही सहरमा निरन्तर युद्ध चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १० औं दिन हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १४:२२