गजल – एक
जसरी पनि इज्जत र इमान बचाउनै पर्छ
अनि मैले पाएको सम्मान बचाउनै पर्छ ।
मलाई मेरी आमाले यही कुरा भन्नुहुन्छ,
छोरी तिमीले अल्लारे जोवन बचाउनै पर्छ ।
आज नगद भोलि उधारो लेख्नुको कारण,
खेतबारी बेची थापेको दोकान बचाउनै पर्छ ।
‘हँसी गै त फँसी गै’ हिन्दीमा उखान छ,
फूलहरुले ओंठको मुस्कान बचाउनै पर्छ ।
अनुरोध गर्छु देशभक्तलाई गजलमार्फत्,
आफू मरर देशको स्वाभिमान बचाउनै पर्छ ।
गजल – दुई
काग कराउँदै जान्छ पिना सुक्दै जान्छ,
जति दुखायो मन त्यति दुख्दै जान्छ ।
जति गोडमेल गर्नुस् सकेजति पानी हाल्नुस्,
बालुवा र मरुभूमिमा सारेको बिरुवा सुक्दै जान्छ ।
म ठूलो हुँ भनेर घमण्ड गर्दै नगर तिमी,
फलेको हाँगो जहिले पनि झुक्दै जान्छ ।
सरुवात गरिन्छ लामो सफरको जब,
बीच बाटोमै आएर पाइला रुक्दै जान्छ ।
काग कराउँदै जान्छ पिना सुक्दै जान्छ,
जति दुखायो मन त्यति दुख्दै जान्छ ।
गजल – तीन
लालीगुराँस फुलेझैं फुल्न मन लागेको छ,
कति सम्झनु दुःख पीर भुल्न मन लागेको छ ।
नराम्रो काममा होइन समाजकै हीतको काममा,
स्वतन्त्र रूपले गाउँमा खुल्न मन लागेको छ ।
साहित्यमा आर्थिक प्रगति हुन्छ सोच्दै नसोच,
तैपनि मलाई साहित्यमै झुल्न मन लागेको छ ।
मैले मन–मुटु सबै बन्धकमा राखेको थिए,
मायाले नै ती सबैकुरा असुल्न मन लागेको छ ।
लालीगुराँस फुलेझैं फुल्न मन लागेको छ,
कति सम्झनु दुःख पीर भुल्न मन लागेको छ ।
गजल – चार
आफ्नै निधारमा घर बनाउँछु,
र लाग्दै नलाग्ने जहर बनाउँछु ।
चाहिनेभन्दा बढी सोच्छ यो मनले,
सीमित मात्राको रहर बनाउँछु ।
समानताको हाम्रो नयाँ नेपालमा,
सबैलाई समान अवसर बनाउँछु ।
घाम र जून भए नि हाम्रो नाता,
आकाशमा एउटै सफर बनाउँछु
आफ्नै निधारमा घर बनाउँछु,
र लाग्दै नलाग्ने जहर बनाउँछु ।
गजल – पाँच
चाहना नै होइन घर बदल्न
जन्मभूमिसँगै थर बदल्न ।
हरेक नारी सधैं बाध्य हुन्छे,
मनभित्र रहेका रहर बदल्न ।
छोरा भएर पनि किन सकेनौं,
छोरी बिक्री हुने सहर बदल्न ।
पुरानै छन् गाउँका ती अनुहार,
सरकारले सकेन नगर बदल्न ।
चाहना नै होइन घर बदल्न,
जन्मभूमिसँगै थर बदल्न ।
।