सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

बाँके ट्राफिक प्रहरी : कतै सेटिङमा राजस्व असुली, कतै रसिद नदिएरै ‘जरिवाना’

‘दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा पर्ने गरेको छ ।’

बाँके । बाँकेमा ट्राफिक प्रहरीले सेटिङमै राजस्व असुल गर्ने गरेको गुनासो बाहिरिएको छ । खाली ट्रयाक्टरलाई ५०० रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ ।

पहिले नै राजस्व तिरेपछि चाहिए जति लोड गर्न पाइने र कतै प्रहरी वा ट्राफिकले रोकेमा जरिवानाको बिल देखाएपछि बाटोमा रोक्न नै नपर्ने भएपछि ट्राफिक नियम उल्लंघन गर्नेको संख्या दिनानुदिन बढिरहेको पाइएको छ ।

‘एकाबिहानै जरिवाना काटेपछि दुई तीन खेप सामान ढुवानी गर्न पाएका छौं,’ एक जना ट्याक्टर चालकले भने । धान र गहुँको भुस ढुवानी गर्ने ट्रयाक्टरले अत्यधिक मात्रामा ओभर लोड गरी सामान ढुवानी गर्दा पनि ट्राफिकले जरिवाना काट्नेबाहेक केही गर्न सकेको छैन ।

एक हजारदेखि एक हजार ५०० रुपैयासम्म जरिवाना तिरेपछि एक ट्रयाक्टरको ठाउँमा एउटै ट्रयाक्टरले तीन गुना बढी भुस बोकेर दिनको तीन÷चार खेप सडकमा कुदाउँदा एउटै जरिवानाले काम चल्ने गरेको ट्रयाक्टर चालकको भनाइ छ ।

एउटै ट्रयाक्टरले भुसको ढुवानीमा लागेका ट्रयाक्टरले महिनामा बीस दिनसम्म जरिवाना काट्ने गरेको पाइएको छ । ट्राफिक नियमको उल्लंघन गरेपछि मात्र चेतावनीस्वरुप राजस्वको दायरामा ल्याउनुपर्नेमा सेटिङमै राजस्व असुलल्दै आएको गुनासो बढेको छ ।

ट्याक्टरबाट सेटिङमै राजस्व असुल्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पछिल्लो समय सबै कागजात बोकेर मापदण्डअनुसार नै चलेका टिपरहरुले भने अनुसारको रकम नदिएपछि अनावश्यक रुपमा रोकेर दुख दिने गरेको पाइएको छ ।

सबै कागजात बोकेर मापदण्डअनुसार नै चलेका टिपरलाई रकम असुलीको मनसाय बनाएर दुःख दिनकै लागि अनावश्यक रुपमा रोक्दा गत सातामात्रै टिपर ड्राइभरले बसपार्क पोष्टमा कार्यरत ट्राफिक प्रहरीका जवान टेकराज अधिकारीमाथि हातपातसमेत गरेका थिए ।

पछिल्लो समय रकम असुलीका नाममा ट्राफिक प्रहरीको दादागिरी बाँकेमा निकै बढेको छ । हरेक दिन सैयौँ विभिन्न सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्दा त्यसको न्यूनीकरणमा भन्दा रकम असुल्नेतिर मात्र ट्राफिकको ध्यान गएको आरोप लाग्ने गरेको छ ।

नेपालगन्ज–सुर्खेत चल्ने बसका एक चालकका अनुसार ट्राफिकले जरिवाना भनेर मागेजति रकम दिने गरेको र तर व्यापक मात्रामा ट्राफिक उल्लंघन हुँदा पनि रसिद काट्नेबाहेक अरु केही नभन्ने गरेको गुनासो गरे ।

‘सवारी चालक लाइसेन्स नहुँदा, हेलमेट नलाउँदा, ब्लुबुक नहुँदा, क्षमताभन्दा बढी सामान तथा मानिस बोक्दा ट्राफिक प्रहरीले भने अनुसार रकम नदिएपछि रसिद थमाउने गर्छ,’ नेपालगन्जका एक जना मोटरसाइकल चालकले भने ।

गिटी, बालुवा, ग्रावेल, इँटा, दाउरा बोक्ने टे«क्टर र भैँसी तथा भुस बोक्ने ट्रकले मागेजति रकम दिने गरेकाले अर्को चेक पोष्टमा झन्झट नहोस् भनेर बाहानाकै लागि मात्र न्यून जरिवाना काट्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले बतायो ।

‘कहिलेकाहीँ रसिद नदिई ‘जरिवाना’ असुली हुन्छ । त्यो रकम सरकारको राजस्व खातामा जम्मा हुँदैन । सबैले मिलिजुली खाने हो,’ ट्राफिक प्रहरी स्रोतले भन्यो । त्यसो त ड्यूटीमै रहेका ट्राफिक प्रहरीले जरिवानाको रसिद नदिई रकम असुल्ने गरेका तथ्यहरु बेला बेलामा बाहिर आउने गरेका छन् ।

अझ रुपैडिहा नाका भएर नेपाल भित्रिने मालबाहक गाडीहरु ट्राफिक प्रहरीको विशेष निगरानीमा पर्ने गरेको पनि ट्राफिक प्रहरी स्रोतले बतायो । ‘भन्सार भएर आउने गाडीहरुलाई नेपालगन्ज पोष्टमा रोकेर सामान अनुसार प्रतिगाडी १०० देखि ५०० भारतीय रुपैयाँ असुली हुन्छ,’ स्रोतले सत्यपाटीलाई भन्यो ।

एक जना भारतीय ट्रकका चालकले नेपाल आउँदा आफूसँग ट्राफिक प्रहरीले अनेक बहानामा रकम असुल्ने गरेको बताए । ‘भन्सार प्रक्रिया पुर्याएर मापदण्डअनुसार नै भित्रिएका हुन्छौं,’ उनले भने, ‘पैसा हरेक पटक लिन्छन्, तर रसिद दिँदैनन्, पैसा नदिए गाडी रोकिदिन्छन् । त्यसैले पनि भने अनुसार रकम दिन बाध्य हुन्छौं ।’

यी केही प्रतिनिधिमूलक घटनामात्रै हुन् । अझ बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुल गर्ने गरेको गुनासो पनि बढिरहेको छ । ट्राफिक प्रहरी कार्यालयका चेकपोष्ट भन्दा जङ्गल र एकान्तमा गएर चेकिङ्ग गरेर ट्राफिक प्रहरी रकम असुलीमा केन्द्रीत हुने गरेको आरोप छ ।

पूर्वपश्चिम राजमार्गका सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, रत्न राजमार्गको नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कुन बेला कस्तो मुर्गा भेटिन्छ’ भनेर बस्ने गरेको एक जना सवारी चालकले सत्यपाटीलाई बताए ।

नाम नबताउने शर्तमा उनले भने, ‘दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा पर्ने गरेको छ ।’ पछिल्लो समयमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनिरहेको बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ ।

दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेताना फैलाउनुभन्दा पनि सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउने गरेको नेपालगन्ज–१ का कृष्णबहादुर शाहले बताए । सानो कुरालाई पनि ठूलो बनाएर जरिवाना काट्न खोज्ने र अन्तिममा रसिद नै नकाटेर १००–२०० रकम लिएर छाड्ने गरेको पनि सवारी चालकहरु बताउँछन् ।

सवारी चालकहरु सानादेखि ठूला सबै प्रकारका सवारी साधनहरुबाट ट्राफिक प्रहरीले पैसा असुल्छ । पहिलेदेखि नै यस क्षेत्रमा ट्राफिक प्रहरीले विभिन्न बाहानामा सवारी चालकहरुबाट पैसा असुल्दै आएको एक जना सवारी चालकले बताए । कहिलेकाँही लाइसेन्स ब्लुबुक बोक्न बिर्सेकासँग सोही बाहानामा रसिद नै नकाटेर पैसा लिने गरेको उनको दावी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १०:०६