सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेटर शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियाका लेजेन्ड लेग स्पिनर शेन वार्नको निधन भएको छ ।

विश्व क्रिकेटकै एक महान खेलाडी वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

वार्नले टेस्ट क्रिकेटमा ७०८ विकेट लिएका थिए । टेस्ट क्रिकेटमा धेरै विकेट लिनेमा वार्न दोस्रो स्थानमा छन् । १५ वर्षको खेलाडी जीवनमा उनले १४५ खेल खेलेका थिए ।

वार्नको व्यवस्थापन कम्पनीकाअनुसार वार्न थाइल्यान्डको कोह सामुईस्थित आफ्नो घरमा अचेत अवस्थामा भेटिएका थिए ।

वार्नले १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १९९३ देखि २००५ को बीचमा १९४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ विकेट लिएका थिए ।

उनले २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । इङ्ल्यान्डविरुद्धको एसेस टेस्ट श्रृंखला ५–० ले क्लिनस्विप गरेपछि वार्नले सन्यासको घोषणा गरेका थिए । त्यसको एक वर्षपछि उनले फर्स्ट–क्लास र लिस्ट ‘ए’ क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए ।

उनले टेस्टमा भारतविरुद्ध डेब्यू गरेका थिए भने अन्तिम खेल इङ्ल्यान्डविरुद्ध खेलेका थिए । यस्तै, उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । भारतको इन्डियन प्रिमियर लिगमा पनि वार्नले पहिलो संस्करणमा उनले राजस्थान रोयल्र्सको कप्तानी गरेका थिए ।

राष्ट्रिय टिमबाट २००७ मा सन्यास लिए पनि फ्रेन्चाइज क्रिकेट भने वार्नले २०१३ सम्म खेलेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार ०८:०४