सूचनाको शक्ति - The Power Of Information

        

आज श्रीलंका जाँदै नेपाली क्रिकेट टोली

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा रहेको राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदैछ । राष्ट्रिय टोली शनिवार बिहान श्रीलंका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार नै बिदाइ गरिएको छ । क्यानले आयोजना गरेको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरे ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले उत्कृष्ठ खेल प्रदर्शनका लागि शुभकामना दिए । क्रिकेटबाट राज्यले धेरै अपेक्षा गरेको बताउँदै मन्त्री अथकले उत्कृष्ठ नतिजा प्राप्तीमा आफु ठुक्क रहेकोसमेत बताए ।

नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले एक दिवसीय मान्यतालाई जोगाउनु नेपालका लागि अबको चुनौती रहेको बताए । टिम कप्तान सन्दीप लामिछाने उत्कृष्ठ प्रदर्शनका लागि तयारी राम्रो रहेको पनि बताए ।

मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टोली आइसिसी विश्व कप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन् ।

त्यसैगरी मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो विक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मासमेत श्रीलंका जादैंछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार ०८:०१