काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ ग्रहण आज हुँदैछ । शनिवार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांगेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक जना निर्वाचित भएका थिए ।
कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेतले शपथ लिँदैछन् । त्यस्तै, माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले शपथ लिँदैछन् ।
एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ ग्रहण गर्नेछन् । जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ ग्रहण गर्नेछन् ।
राष्ट्रिय सभामा एक मनोनीत सांसदको नाम टुंगिन बाँकी रहेको छ । शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ । चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० जना सांसद हिजोबाट बिदा भएका छन् ।
।