सूचनाको शक्ति - The Power Of Information

        

काउन्सिलद्वारा २२ अनलाइनलाई सचेत, १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस

काठमाडौं । प्रेस काउन्सिल नेपालले नाबालिक गायिका बलात्कारको आरोपमा थुनामा रहेको पल शाह र गायिकाको विषयमा पत्रकार अचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ ।

वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भएको भन्दै काउन्सिलले २२ अनलाइनलाई सचेत गराएको हो ।

यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले एक विज्ञप्ति मार्फत जनाएको छ ।

कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरिएको छ ।

विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष–विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न÷नगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौं’– काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो ।

यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)हरूमा सम्प्रेषित सामग्रीबारे काउन्सिलमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि कार्यदलसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १९:२२