सूचनाको शक्ति - The Power Of Information

        

विश्व खबर

युक्रेनमा रहेको युरोपकै ठूलो परमाणु प्लान्टमा आगलागी

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की भन्छन्, ‘युरोपका मानिसहरु अब त उठ्नुहोस्’

युक्रेन । युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट जेपोरजियाको छ रेक्टरको नजिक आगलागी भएको छ । यो पावर प्लान्ट दक्षिण पूर्व युक्रेनमा छ । युक्रेनका अनुसार रुसको लगातार हमलापछि आगो लागेको हो र गोलाबारीको कारण आगो निभाउन समस्या भइरहेको छ ।

हार्वड विश्वविद्यालयमा परमाणु सुरक्षा विशेषज्ञ ग्राहम एलिसनले बीबीसीलाई भनेका छन्, ‘यदि आगो लागेको हो भने दुर्घटना हुनसक्छ ।’ उनका अनुसार १९८६ मा जसरी चेनोबिल विपद भएको थियो त्यसैगरी रेडियसनको स्तर बढ्न सक्छ र वर्षौंसम्म रहन्छ ।

उनले अहिले नै केही भइहाल्छ भनेर भन्नु छिटो हुने बताएका छन् । एलिसनका अनुसार रुसी सैन्य बलले प्लान्टलाई अफलाइन गर्ने कोसिस गरिरहेको हुन सक्छ । जेपोरजियाको स्थानीय प्रशासनले भने आगलागी भए पनि पावर प्लान्ट सुरक्षित नै रहेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले परमाणु प्लान्टमा हमलाको खबरको बीचमा आपतकालीन सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले परमाणु विपदको खतराको चेतावनी पनि दिएका छन् । जेलेन्स्कीले भनेका छन्, ‘युरोपका मानिसहरु अब त उठ्नुहोस् !’

जेलेन्स्कीले ट्वीटरमा भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘रुसको सेनाले जानेरै परमाणु प्लान्टलाई निशाना बनाएका हुन् ।’ उनले यूरोपबासीलाई सहयोगको अपिल गर्दै भनेका छन्, ‘तपाई आफ्ना नेताहरुलाई भनेर रुसी बलले युक्रेनको परमाणु प्लान्टमा हमला गर्न लागेको बताइदिनुहोस् ।’

जेलेन्स्कीले अमेरिका ब्रिटेन र यूरोपियन यूनियका नेताहरुको सम्पर्कमा आफू रहीरहेका जानकारी दिएका छन् । उनले नागरिकलाई पुन मद्दत माग्दै आफ्ना देशका नेताहरुलाई जगाउन आग्रह गरेका छन् । (एपीएफ)

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १२:५१