बाँके । नेपाली कांग्रेस बाँकेको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको छ ।
बिहीबार भएको जिल्ला अधिवेशनमा तीन जना सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तीनजना मध्ये बढी मत ल्याउने नारायणप्रसाद गौडेल र बादशाह कुमीबीच आज (शुक्रबार) पुनः मतदान हुने नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
अधिवेशनमा १४४५ मत खसेकामा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ मत पाएका थिए । १४९३ मतदाता रहेकामा २४ मत बदर भएको थियो ।
गौडेल पार्टी नेता शेखर कोइराला पक्षका हुन् भने कुर्मी र हमाल पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । हमाल प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रीसमेत छन् ।
दोस्रो चरणको मतदानमा कुर्मीलाई समर्थन गरेर जिताउन हमाललाई पार्टी सभापति एवं प्रधानमन्त्री देउवाबाटै स्पष्ट निर्देशन आएको कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताए ।
संस्थापन पक्षका दुई उम्मेदवारहरूबीच सहमतिको प्रयास भइरहेकाले १० बजेपछि जिल्ला सभापतिको लागि पुनः मतदान हुने बाल्मिकीले बताए ।
।