सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सल्यान अस्पतालमा चिकित्सक अभाव, प्रसूति सेवा प्रभावित

सल्यान । जिल्ला अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा अस्पतालबाट एकै दिन ५१ जनाभन्दा बढी गर्भवती र प्रसूति हुन आएका महिला उपचार नपाएर फर्किएका छन् ।

अस्पतालमा छ जना डाक्टरमध्ये एक जनाको सरुवा, दुई जनाले जागिर छाडेको, एक जना अध्ययन बिदामा र एक जना तालिममा भएका कारण अहिले अस्पतालको सेवा प्रभावित भएका हो ।

१५ शैय्याको अस्पताल अहिले एक जना मात्र डाक्टरको भरमा सञ्चालनमा छ । सल्यान अस्पतालमा प्रसूतिका लागि आएकी छत्रेश्वरी गाउँपालिकाकी सुषमा बुढाथोकी स्वास्थ्यकर्मीलाई खोज्दाखोज्दै हैरान भइन् ।

उनले अस्पतालमा स्वास्थ्यकर्मी भेटाइनन् । उनलाई स्वास्थ्यकर्मीले सुत्केरी हुने मिति फागुन ७ गते दिएका थिए । बागचौर नगरपालिका–१२, बाफुखोलाकी सुशीला ओली पनि सुत्केरी हुन गाडी ‘रिजर्भ’ गरेर जिल्ला अस्पताल पुगिन् ।

तर एक जना डाक्टरले मात्र केही गर्न नसक्ने जनाएपछि उनी अस्पतालबाट फर्किनुपर्यो । सल्यान अस्पतालमा विशेषज्ञ डाक्टरकै अभाव हुँदा केहीदिन अगाडि मात्र सुत्केरी हुन आएकी एक गर्भवतीको मृत्यु भएको थियो ।

अस्पतालमा एक्लै खटिएका डा.अभिषेक सिंहले जनशक्तिको अभावमा सेवा दिन समस्या भएको बताए । उनले भने, ‘एक्लैले इमर्जेन्सी पनि चलाउनुपर्ने हुन्छ, ओपीडी पनि चलाउनुपर्ने हुन्छ । अप्रेसन पनि गर्नुपर्दा एक्लै सम्भव छैन ।’

उनका अनुसार चिकित्सक नै नभएपछि अस्पतालले बिरामीको भर्ना लिनसमेत छाडेको छ । आकस्मिक कक्ष तथा वार्डमा बिरामी भर्ना गरिएको छैन । यहाँ उपचारमा आएका बिरामीलाई बाहिर रेफर गर्ने गरिएको छ ।

स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले प्रदेश सरकारसँग डाक्टरको माग गरिएको र केहीदिनमा प्रदेशले डाक्टर पठाउने आश्वासन दिएको बताइन् । उनका अनुसार अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।

पाँच जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा अहिले एक जनामात्रै छन् । अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामी महँगो शुल्क तिरेर कोही निजी अस्पताल जान बाध्य छन् भने कुनै जिल्ला बाहिर जान बाध्य छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ०९:०३