सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा सिंहदरबार आउँछ भन्थे चुनावपछि फर्केनन् नेता

डडेल्धुरा । महाकाली नदी निरन्तर बगिरहेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ । साँझ पर्यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ ।

तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धकारमय छ । चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा । भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्यालोले चित्त बुझाइरहेकी छन्, उनी ।

उनी भन्छिन्, ‘सोलार पनि कहिले बल्छन्, कहिले बल्दैनन् । बादल र पानी परेको दिन सोलार नबलेपछि रात काट्नै समस्या हुन्छ ।’ गाउँमा खानेपानी पनि छैन्, एक घण्टा हिँडेर पानी बोक्नु पर्ने स्थानीय पदमसिंह थलाल बताउँछन् । नेपाल टेलिकमको टावर नहुँदा भारतीय सिम प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

‘हामी नेपालमा छौं कि भारतमा कहिलेकाहिँ झुक्किन्छौं,’ उनले भने, ‘नेपाल सरकारले हामीलाई हेर्दैन । भारतीय पक्षले महाकाली पारी नेपाल भन्छ । उताको विकास देख्न पाइन्छ । भोग्न पाइँदैन ।’ उनले देशमा जुनसुकै पार्टीको सरकार आए पनि विकासको अनुभव गर्न नपाएको बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्लाका नागरिक भए पनि हामी नेपालबाट टाढा छौं तर, नेपाली भूमिमै छौं,’ उनले भने ।

स्थानीय भन्छन्, ‘सिंहदरबार पुगेन’

यहाँका बासिन्दा दैनिक नुन, तेल ल्याउन समेत भारतीय बजारको भरमा छन् । सरकारले चुँडी गाउँको विकास नगरे पनि महाकालीमा पुल राखिदिए मात्रै पनि सहज हुने स्थानीय लोकबहादुर ठकुराठीको भनाइ छ । देश संघीयतामा गएपश्चात गाउँगाउँमा सिंहदरबार आउने चर्चा चल्यो ।

सिंहदरबार नदेखेका दुर्गम गाउँका यी नागरिक पनि विकासको लहर आउँछ भन्ने सोचे पनि त्यसो नभएको ठकुराठीको भनाइ छ । देश संघीयतामा गएको चार वर्षभन्दा बढी भइसक्दा समेत नागरिकले सिंहदरबारको अनुभूति गर्न नपाएको उनी बताउँछन् । करिब ३० घर रहेको यो गाउँमा घोरेटो बाटोसम्म छैन् ।

‘हाम्रा दुःख यस्तै थिए । अझ यस्तै छन् । कहिलेसम्म यस्तो रहने हो थाहा छैन्,’ स्थानीय महेश ऐडी भन्छन्, ‘सिंहदरबार आउँछ भनेर चुनाव जितेका जनप्रतिनिधिले गाउँको विकासमा एक रत्ति ध्यान दिएका छैनन् ।’ उनी भन्छन्, ‘सिंहदरबार त त्यस्तै हो हाम्रो गाउँमा चुनाव जितेपछि जनप्रतिनिधि समेत पुगेका छैनन् ।’

दुर्गम बस्ती चुँडी गाउँमा कोही बिरामी पर्दा पाँच घण्टा बोकेर भारतीय अस्पतालमा पुर्याउनुपरेको ऐडीको भनाइ छ । यातायातको सुविधा नहुँदा पाँच घण्टाको पैदल यात्रा गरेर अस्पताल पुर्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । गाउँमा विद्यालय नहुँदा विद्यार्थीहरू दुई घण्टा हिडेर पत्तरम भन्ने ठाउँमा पुग्ने गरेको लोकबहादुर ठकुराठीले बताए ।

उनी भन्छन्, ‘हिड्न सक्ने विद्यालय गएर पढ्छन्, ननिस्कने घरको काम गर्छन् ।’ सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याए पनि चुँडी गाउँमा हिँड्ने गोरेटो बाटोको समेत व्यवस्था नगरिदिएको उनको भनाइ छ । वडा कार्यालय पुग्नको लागि पाँच घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १५:४२