काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा प्रस्तुत प्रस्तावका पक्षमा नेपालले पनि मतदान गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले पक्षमा मतदान गरेको हो ।
अमेरिका लगायत अन्य पश्चिमा मुलुकसंगै नेपालले पनि युक्रेनमाथी रुसले गरेको सैन्य आक्रमणको भत्सर्ना गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाका १९३ सदस्य देश मध्ये १४१ ले उक्त प्रस्तावका पक्षमा मत हालेका छन् । उक्त प्रस्तावले रुसले युक्रेनमाथी गरिरहेको सैनिक आक्रमण रोकिनुपर्ने माग राखेको छ ।
युक्रेन मामिलामा विश्वका मुलुक बिभाजित देखिएका छन् । अमेरिका र उसका गठबन्धमा रहेका मुलुकले रुसको कडा विरोध गर्दै युक्रेनको पक्षमा उभिएका छन् । त्यसमा नेपाल समेत परेको छ । रुससंग रणनीतिक संबन्ध रहेका मुलुकले रुसलाई नचिढ्याउने नीति लिएका छन् । जसमा नेपालका दुई छिमेकी चीन र भारतसमेत छन् । उनीहरुले बुधबार भएको मतदानमा अनुपस्थित रहेर रुसबिरुद्ध नरहेको सन्देश दिएका छन् ।
त्यसैगरी युक्रेन मामिलामा रुसले लिएको अडानमा थोरैमात्र देशले समर्थन गरेका छन् । रुसलाई चिढ्याउन नचाहेका मुलुकले कि त प्रस्तावको विपक्षमा मत दिएका छ कि अनुपस्थित देखिएका छन् । नेपालका दुई छिमेकी चीन र भारत मतदानमा अनुपस्थित रहे । रुस, सिरिया र बेलारुस लगायतले उक्त प्रस्तावको विपक्षमा मत दिए । संयुक्त राष्ट्रसंघ महासभाले पारित गर्ने प्रस्तावहरु बाध्यकारी हुंदैनन् । तर ति प्रस्तावको विश्व राजनीतिमा ठूलो अर्थ राख्छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यसमेत रहेको रुसलाई कुटनीतिक रुसमा एक्ल्याउने पश्चिमा मुलुकको रणनीति अनुसार उक्त प्रस्ताव पेश भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८२ पछि पहिलोपटक संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभा बैठक डाकिएको हो । आपत्कालीन बैठक बिशेष परिस्थितीमा मात्रै बोलाउने गरिन्छ । एकसाता अघि पनि नेपालले युक्रेनको पक्षमा मत दिएको थियो ।
युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका थिए । ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका थिए ।
नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो । ४७ सदस्यीय काउन्सिलमा युक्रेनको पक्षमा मतदान गर्ने २९ मुलुकको सूचीमा बेलायत, जर्मनी, फ्रान्स, जापान, नेदरल्यान्ड, कतार र दक्षिण कोरिया लगायत छन् । यी देश अमेरिकी धुरीका मानिन्छन् । ती देशसँगै नेपालले पनि युक्रेनका पक्षमा मत हालेको हो ।
परराष्ट्र मन्त्रालयले गतसाता एक विज्ञप्ति जारी गरी युक्रेनमा रुसको हस्तक्षेपको विरोध गरिसकेको छ । त्यस्तै रुसनिकट मानिने क्युबा, इरियाट्रिया र भेनेजुएलाले युक्रेनको विपक्षमा मत दिएका छन् । रुसले एक साता अघि सैन्य आक्रमण गरेपछि युक्रेनको राष्ट्रिय सुरक्षा संकटमा परेको छ । अमेरिका र पश्चिमा मुलुकले युक्रेनलाई थप हतियार पठाइरहेका छन् ।रुसले पनि युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
यससँगै युक्रेन शक्ति राष्ट्रबीचको भूराजनीतिक द्वन्द्वको शिकार भएको छ । अमेरिका लगायत पश्चिमा मुलुकले रुसमाथि कडा आर्थिक नाकाबन्दी लगाएका छन् । युक्रेन संकटलाई पश्चिमा मुलुक र रुसबीचको भूराजनीतिक टकरावको हिस्सा मानिएको छ । युक्रेनले अमेरिकी धुरीको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन प्रयास गरेपछि रुस चिढिएको हो । युक्रेनलाई नेटोको सदस्यताबाट रोक्न रुसले सैन्य हमला गरेको हो ।
।