सूचनाको शक्ति - The Power Of Information

        

उपचार अभावमा नौं वर्षीय बालक साङ्लोमा

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो ।

उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो ।

आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ । दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो,’ उनले भने ।

छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए । यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन् । उनले राम्रो उपचार पाए बालक ठीक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार ०७:५७