सूचनाको शक्ति - The Power Of Information

        

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

काठमाडौं । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पक्ष र विपक्षमा विश्व ध्रुवीकृत भएको छ ।

युक्रेनको पक्षमा अमेरिकासँगको रणनीतिक साझेदार मुलुकहरू छन् भने विपक्षमा चीन बेलारुसलगायतका ठूला राष्ट्र विभाजित छन् ।

युक्रेनमाथि रुसी हमलालाई लिएर विश्व नै ध्रुवीकृत भइरहेका बेला नेपालले भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आपतकालीन बैठक गर्ने पक्षमा मतदान गरिसकेको छ ।

युक्रेनकै विषयसँग सम्बन्धित रहेर मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनबीच संवाद भएको छ । सो संवाद’बारे सुरुमा ब्लिंकनले ट्वीटरमार्फत् जानकारी गराएका छन् ।

उनको ट्वीटमा नेपालका प्रधानमन्त्रीसँगको कुराकानीका क्रममा रुसले अकारण आक्रमण गरेको, तथा युक्रेनको सम्प्रभुता र भौगोलिक अखण्डताप्रति आफूहरूको समर्थनलगायतका विषयमा कुराकानी भएको उल्लेख गरिएको छ ।

ट्वीटमा ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विविध मामिलामा सहकार्य जारी राख्नेछौं’ भनिएको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्वीटमार्फत आफूले युक्रेनविरुद्ध रुसी आक्रमण र सम्प्रभुताप्रति आफूहरूको समर्थन रहेको जनाएका छन् ।

त्यसो त एक साताअघि मात्रै युक्रेन आक्रमणको विषयलाई लिएर नेपालले विज्ञप्तिमार्फत आफूहरूले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार ०७:३७